Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचैतबाट औसत ब्याजदर अन्तर चार दशमलव दुई प्रतिशत गर्न निर्देशन

चैतबाट औसत ब्याजदर अन्तर चार दशमलव दुई प्रतिशत गर्न निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई औसत ब्याजदर कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई २०७९ चैतबाट औसत ब्याजदर अन्तर चार दशमलव दुई प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘२०७९ चैत महिनाबाट औसत ब्याजदर अन्तर क वर्गका वाणिज्य बैंकहरुको हकमा चार दशमलव दुई प्रतिशत र विकास बैंक र फाइनान्स कम्पनीहरुको हकमा चार दशमलव आठ प्रतिशतभन्दा बढी नहुने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ । परिपत्र अनुसार २०८० असार महिनाबाट वाणिज्य बैंकहरुले चार प्रतिशत, विकास बैंक र फाइनान्स कम्पनीहरुले चार प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नुपर्नेछ । कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइनेछ । तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा छ महिनाअघिको जम्मा बक्यौता कर्जा तथा सापटको आधारमा २०८० पुस मसान्तदेखि गणना सुरु गरी त्यसपछिको प्रत्येक त्रैमासिकमा गणना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार न्यूनतम कर्जा प्रवाहअन्तर्गत वाणिज्य बैंकहरुले २०८३ असार मसान्तसम्ममा कृषि क्षेत्रमा अनिवार्यरुपमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसको लागि २०८० असार मसान्तसम्ममा ११ प्रतिशत, २०८१ असार मसान्तसम्ममा १३ प्रतिशत, २०८२ असार मसान्तसम्ममा १४ प्रतिशत र २०८३ असार मसान्तसम्ममा १५ प्रतिशत पु¥याउनुपर्ने परिपत्रमा उल्लेख छ ।

ऊर्जा क्षेत्रको हकमा भने २०८३ असार मसान्तसम्ममा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसको लागि २०८० असार मसान्तम्ममा छ प्रतिशत, २०८१ असार मसान्तसम्ममा सात प्रतिशत, २०८२ असार मसान्तसम्ममा आठ प्रतिशत र २०८३ असार मसान्तसम्ममा १० प्रतिशत पु-याउनुपर्नेछ । लघु घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा पनि २०८३ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसको लागि २०८० असार मसान्तम्ममा ११ प्रतिशत, २०८१ असार मसान्तसम्ममा १२ प्रतिशत, २०८२ असार मसान्तसम्ममा १३ प्रतिशत र २०८३ असार मसान्तसम्ममा १५ प्रतिशत पु-याउनुपर्ने परिपत्रमा उल्लेख छ । यसअन्तर्गत एक करोड रुपैयाँभन्दा कम रकमका कर्जा तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत समावेश गरिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्ममा कृषि, ऊर्जा, लघु घरेलु तथा साना उद्यम, पर्यटनको क्षेत्रमा विकास बैंकहरुले २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसको लागि २०८० असार मसान्तम्ममा १६ प्रतिशत, २०८१ असार मसान्तसम्ममा १७ प्रतिशत, २०८२ असार मसान्तसम्ममा १९ प्रतिशत र २०८३ असार मसान्तसम्ममा २० प्रतिशत पु-याउनुपर्नेछ । यसैगरी फाइनान्स कम्पनीहरुले पनि कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्यम क्षेत्रमा २०८३ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसको लागि २०८० असार मसान्तम्ममा ११ प्रतिशत, २०८१ असार मसान्तसम्ममा १२ प्रतिशत, २०८२ असार मसान्तसम्ममा १४ प्रतिशत र २०८३ असार मसान्तसम्ममा १५ प्रतिशत पु-याउनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले बुधबार नै लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा अर्को परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थाले मासिकरुपमा आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको छ । उक्त निर्देशनअनुसार २०७९ माघदेखि लघुवित्त संस्थाहरुले आफ्नो आधार दर मासिक रुपमा आफनो वेबसाइटमा नियमितरुपमा प्रकाशन गर्नुपर्नेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x