Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रमिकको हित हुने काममा ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन

श्रमिकको हित हुने काममा ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र कान्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा उनले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताए । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । त्यस्तै उनले सम्बन्धित देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरु क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायित्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न आग्रह गरे । त्यस्तै समन्वय र सञ्चार, श्रमिकको अवस्था, डिमान्ड दिने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा कान्सिलर र श्रम सहचारीलाई जानकारी गराएका थिए । अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारसम्बन्धी कानुनलगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ ।

यस्तै मन्त्रालयले मेलेसियाको क्वालालम्पुरको लागि भोलानाथ गुरागाई, दक्षिण कोरियाको सियोलको लागि चन्द्रकला चौलागाई ओली र कतारको दोहाको लागि टिकामणि नेउपानेलाई कान्सिलरमा नियुक्त गरेको छ । त्यसैगरी श्रम सहचारीमा ताम्रराज काफ्ले आउदी अरेबियाको जेद्दा, दिलप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्द प्रसाद आचार्य ओमान मस्कट र आविद अंसारी संयुक्त अरब इमिरेट्स अबुधाबीको लागि नियुक्त भएका छन् । उनीहरूलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रीस्तरीय निर्णयले सिफारिस गरिएको थियो । श्रम सहचारी र काउन्सिलरलाई मन्त्रालयले तीनदिने अभिमुखीकरण तालिम दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x