Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवाशक्तिलाई रोजगारीको नाममा विदेश धकेल्न माओवादीको प्रमुख भूमिका

युवाशक्तिलाई रोजगारीको नाममा विदेश धकेल्न माओवादीको प्रमुख भूमिका


काठमाडौं । माओवादी द्वन्द्व नै नेपाली युवाशक्तिलाई वैदेशिक रोजगारीको नाममा विदेश पठाउने मुख्य कारक भएको एक अध्ययनले देखाएको छ । माओवादी द्वन्द्वको कारण रोजगारीका क्षेत्रहरु खुम्चिन गएको तथा कतिपय युवाहरु आफूलाई सुरक्षित गर्न बाहिर जान बाध्य पर्दा वैदेशिक रोजगारी रोज्न पुगेका हुन् । अहिले त्यही वैदेशिक रोजगारी जीविकोपार्जन मात्र होइन राष्ट्रको आयस्रोतको एउटा पाटो पनि बन्न पुगेको छ ।

तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सुरु गरेको राज्यविरुद्धको द्वन्द्वमा श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्यामा वृद्धि भएको पाइएको छ । बसाइसराइ तथा आप्रवासनको मुख्य कारकको रुपमा द्वन्द्व मानिन्छ जसको असर नेपाली नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनुभव गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम), नेपालको प्रतिवेदनअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई जारी गरिएका श्रम स्वीकृतिका प्रवृत्ति हेर्ने हो भने द्वन्द्वकालमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेको बताएको छ । प्रतिवेदनले द्वन्द्व सुरु हुने बेलामा तीन हजार जनालाई श्रम स्वीकृति प्रदान गरिएकोमा वि.सं. २०६२/०६३ मा द्वन्द्व अन्त्य हुने बेलासम्म आइपुग्दा सो संख्या ह्वात्तै बढेर एक लाख ६५ हजार एक सय तीन पुगेको थियो ।

द्वन्द्व सुरुवातको चरणमा र द्वन्द्व अन्त्यको समयसम्म आइपुग्दा नेपाली नागरिक वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई समाजले स्वीकार गरिसकेको देखिन्छ । जसले गर्दा द्वन्द्व अन्त्य भएपछि पनि वैदेशिक रोजगारमा जानेको संख्या बढिरह्यो । सन् १९९६/९७ अर्थात् द्वन्द्व सुरुवाती समयमा तीन हजार दुई सय ५९ जना त्यसपछि क्रमशः सन् १९९७/९८ मा सात हजार सात सय ४५ जना, सन् १९९८/९९ मा २७ हजार सात सय ९६ जना, सन् १९९९/०० मा ३५ हजार पाँच सय ४३ जना, सन् २०००/०१ मा ५५ हजार २५ जना, सन् २००१/०२ मा एक लाख चार हजार सात सय ३६ जना, सन् २००२/०३ मा एक लाख पाँच हजार ४३ जना, सन् २००३/०४ मा एक लाख छ हजार ६६ जना, सन् २००४/०५ मा एक लाख ३९ हजार सात सय १८ जना र सन् २००५/०६ एक लाख ६५ हजार एक सय तीन जनाले श्रम स्वीकृति लिएका थिए ।

प्रतिवेदनले यसरी वैदेशिक रोजागरीमा जानुमा हिंसाको त्रास तथा आर्थिक कमजोरी रहेको बताएको छ । १० वर्षसम्म चलेको माओवादी द्वन्द्वलाई लिएर गरिएको एक अध्ययनमा भनिएको छ, ‘बाध्यात्मक आप्रवासनबारे यथार्थ तथ्यांक छैन, तर द्वन्द्वका कारण अन्तरिक तथा अन्तर्राष्ट्रिय आप्रवासन गर्नेको संख्या उल्लेख्य मात्रामा बढेको विभिन्न स्रोतले देखाउँछन् । द्वन्द्वका बेला हिंसाका त्रासका कारण मात्रै नभई कृषि तथा आर्थिक उत्पादन घट्दै गएका कारण पनि मानिसहरु बसाइ सरेका थिए ।

द्वन्द्वका कारण आफ्नो स्थानमा बस्न नसक्ने अवस्था भएको कारण सर्वसाधारणले आफ्नो ठाउँ छाडेका थिए । माओवादी र राज्यपक्ष वा नेपाली सेनाले द्वन्द्वको समयमा नागरिकमाथि गरेको ज्यादतीको कारण उनीहरु आफ्नो ठाउँ छाड्न बाध्य भएका थिए । आफ्नो ठाउँ छाड्ने क्रममा कतिपयले वैदेशिक रोजगारी रोजेका थिए भने त्यसको संख्या वृद्धि हुँदै गएको पाइन्छ । नेपाली नागरिकका लागि वैदेशिक रोजागारीको गन्तव्य मुलुकको रुपमा भने तीव्र रुपमा आर्थिक वृद्धि भइरहेका मुलुक मलेसिया र खाडी मुलुकहरु रहन पुग्यो । अर्कोतर्फ कृषि उत्पादन घट्दै जानुले गर्दा पनि सर्वसाधारणहरु आम्दानीको स्रोत पहिल्याउने क्रममा वैदेशिक रोजगारीतर्फ लागेको प्रतिवेदनले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगार व्यवसायीको संख्या र पहुँचमा वृद्धि हुँदा सर्वसाधारणहरुलाई वैदेशिक रोजगारी सहज समेत हुन पुग्यो । त्यस्तै दक्ष र अर्धदक्ष नेपालीलाई मलेसिया र खाडी मुलुकले रोजगारी दिने त्यसमा पनि विशेष गरी निर्माण र सेवा क्षेत्रमा जसले गर्दा उनीहरुलाई विदेश सहज बन्न पुग्यो । पुरुषसँगै महिला समेत वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा विदेशिने नागरिकको संख्यामा समेत वृद्धि भएको थियो ।

सन् १९५० मा नेपाल र भारतले शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर हुँदा दुवै मुलुकले एकअर्काका देशका नागरिकलाई आफ्नो देशभित्र बसोबास गर्न, सम्पत्तिको भोगचलन गर्न, व्यापार व्यवसायमा सहभागी हुन, निर्बाध आवतजावत गर्न र अन्य यस्तै विशेषाधिकारका हकमा पारस्परिक रुपमा समान अधिकार प्रदान गर्दा उनीहरु लाभान्वित बन्न पुगेका थिए । जसले गर्दा रोजगारीका लागि भारत जाने र त्यहाँ नै बस्ने नेपालीको संख्या समेत पर्याप्त रहेको थियो । २०५८ र २०६८ को जनगणानले हरेक चार परिवारमध्ये एउटा परिवारका कुनै न कुनै सदस्य विदेशमा रहेको देखाएको थियो । भने सन् २०११ सम्म आइपुग्दा विदेश बस्ने व्यक्तिको संख्या एक दशमलव चार प्रतिशतबाट वृद्धि भई सात दशमलव तीन प्रतिशत पुगेको थियो । यसैबीच प्रतिवेदनअनुरुप विश्वमा आन्तरिक र अन्तर्राष्ट्रिय आप्रवासन तथा विस्थापनको मुख्य कारण द्वन्द्व रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x