Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार वर्ष अवधिको पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुँदै

चार वर्ष अवधिको पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वर्षे अवधिको पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार पुस ५ गते मंगलबार अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘ज’ (४) वर्षे बिक्री गर्न लागिएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति पुस ६ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८३ पुस ६ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड र ७५ करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरुपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउनेछैनन् ।

ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

पुनः १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ४ गते अर्थात् सोमबार पुनः १७ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही मंसिर ६ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति पुस ५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ चैत ७ गते, एक सय ८२ दिने अवधिको २०८० असार ५ गते र तीन सय ६४ दिने अवधिको २०८० पुस ३ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने ती ट्रेजरीमा सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x