Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहजरुपमा कर्जा प्राप्त गरेको दाबी

सहजरुपमा कर्जा प्राप्त गरेको दाबी


काठमाडौं । सहुलियतपूर्ण कर्जाको लागि आवेदन दिएकाहरुमध्ये ७४ प्रतिशत सहभागीहरुले सहजरुपमा कर्जा प्राप्त गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको उपयोगिताको अवस्थासम्बन्धी गरेको अध्ययन प्रतिवेदनअनुसार पनि कर्जाको लागि सहभागी भएकाहरुमध्ये ७३ दशमलव ८८ प्रतिशतले सहजरुपमा कर्जा प्राप्त गरेको देखिएको हो ।

बैंकले कर्जा दिनुपूर्व व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । कर्जा प्रवाहपश्चात् अधिकांश बैंकले सहभागीहरुको उद्योग/व्यवसाय नियमितरुपमा अनुगमन गरेको सहुलियतपूर्ण कर्जाबाट ९२ दशमलव ९८ प्रतिशत सहभागीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिएको छ । सर्वेक्षणमा १० दशमलव ४० प्रतिशत सहभागीहरुले सहुलियतपूर्ण कर्जाबाट सञ्चालित उद्योग/व्यवसायमा आफ्ना परिवारका सदस्यहरुलाई समेत सहभागी गराएको पाइएको छ ।

प्रतिवेदनअनुसार ३९ दशमलव ९१ प्रतिशत सहभागीहरुले आफ्ना परिवारका सदस्यबाहेक अन्य कर्मचारी तथा कामदारहरुलाई पूर्ण रोजगारी उपलब्ध गराएको पाइएको छ । सर्वेक्षणमा सहभागीहरुले सञ्चालन गरेको उद्योग/व्यवसायबाट कुल लगानीको वार्षिक १८ दशमलव ८३ प्रतिशत आम्दानी कमाएको देखिएको छ । यसमध्ये कृषि कर्जाबाट सञ्चालनमा रहेका उद्योग/व्यवसायहरुले वार्षिक १८ दशमलव ४३ प्रतिशत, महिला उद्यमशील कर्जाबाट १८ दशमलव ७५ प्रतिशत र अन्य कर्जामा सहुलियतपूर्ण कर्जाबाट २८ दशमलव ५७ प्रतिशत आम्दानी आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जा रकमको सहभागीहरुले वार्षिक ३८ दशमलव ६९ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसकारण लिएको कर्जाको सावाँ र ब्याज भुक्तानीमा समस्या नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहुलियतपूर्ण कर्जाबाट अधिकांश सहभागीका परिवारको शिक्षा, स्वास्थ्यलगायत अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तरमा समेत सुधार भएको पाइएको छ ।

सर्वेक्षणमा अधिकांश सहभागीहरुले सहुलियतपूर्ण कर्जा रकम शिक्षा, स्वास्थ्य, पुरानो ऋणको भुक्तानी तथा अन्य घरायसी खर्चमा प्रयोग गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । गरिब तथा बेरोजगारलाई रोजगारीको अवसर सिर्जना गरी उद्यमशीलता विकास गर्न सहुलियतपूर्ण कर्जासम्बन्धी जानकारी सर्वसाधारणमा गराउनुपर्ने र लक्षित वर्गलाई ध्यानमा राखी वित्तीय साक्षरतालगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । सर्वसाधारणको जानकारीका लागि बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जाबारे कार्यालय परिसरमा स्पष्ट देखिने गरी फेल्केक्स ब्यानर लगायतका अन्य सूचनामूलक जानकारी राख्नुपर्ने देखिन्छ । सहुलियतपूर्ण कर्जाबाट व्यवसाय सुरु गरेपश्चात् प्रतिफल प्राप्त हुन केही समय लाग्ने व्यवसाय तथा परियोजनाहरुको हकमा सुरुका केही महिनाका लागि ब्याज भुक्तानीमा पुनरवलोकन गर्नुपर्ने देखिन्छ ।

सहुलियतपूर्ण कर्जामा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाबाहेक अन्य शीर्षकमा कर्जा रकम बुझाउनुपर्ने आवश्यकता देखिएको प्रतिवेदनमा उल्लेख छ । सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले अनुगमन तथा निरीक्षण गर्ने कार्यलाई थप जोड दिनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x