Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ करोडको कारोबार गर्दै ‘विराट एक्स्पो’ सम्पन्न

१५ करोडको कारोबार गर्दै ‘विराट एक्स्पो’ सम्पन्न


विराटनगर । विराटनगरको डिग्री कलेज मैदानमा मंसिर २९ देखि भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । एक्स्पोमा करिब १५ करोड रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले जानकारी दिए । जटिल एवं प्रतिकुुल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले उद्योग संगठन मोरङले एक्स्पोको आयोजना गरेको थियो । उक्त एक्स्पोमा प्रदर्शक, प्रायोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनीस्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नुुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तररूपमा एक्स्पो आयोजना गर्दै आएको बताए । एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खड्किरहेको उनको भनाइ थियो । विराटनगरमा स्थायी प्रदर्शनीस्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि सरकारका सबै निकायहरूमा अनुरोध गरिसक्दा समेत यसतर्फ कसैले चासो नदिएको उनको गुनासो थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x