Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे जानकार छु’

‘अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे जानकार छु’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताएका छन् । हाल सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा नै केन्द्रित रहेको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए ।

‘ब्याजदर वृद्धि, तरलता समस्यालगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ’, उनले भने । रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापीरूपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाइ छ । वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको समेत दाहालले बताए । उनले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ, ।’ प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । साथै दाहाललाई चेम्बरले ८ बुँदे सुझाव समेत दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।’ मुलुकको पुँजीगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए । बाँझो जमिनलाई सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरणमार्फत मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । कृषि कर्जा, खेत किन्नेलाई नभई खेती गर्नेले पाउनुुपर्ने व्यवस्था मिलाउन पनि अध्यक्ष मल्लले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x