Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर गर्ने पक्राउ

बैंकिङ कसुर गर्ने पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१७ धोबिचौर बस्ने ७५ वर्षीय राममान श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । उच्च अदालत पाटनको २०७९ भदौ १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ४२ वर्षीय बद्री बोहरालाई बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बोहोरालाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जानकारी दिएको छ ।

उच्च अदालत पाटनको २०७९ मंसिर १८ गते फैसलाले चार दिन कैद, ११ लाख ६० हजार रूपैयाँ जरिवाना र ४६ हजार चार सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका थिए । पक्राउपश्चात् बोहोरालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x