Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध कारोबार नियन्त्रणमा प्रहरीकै असहयोग

अवैध कारोबार नियन्त्रणमा प्रहरीकै असहयोग

तस्करीबाट झण्डै ४० प्रतिशत कारोबार


काठमाडौं । निजी क्षेत्रले खुला सीमाका कारण ४० प्रतिशतसम्म अवैध कारोबार बढेको बताउँदै आएको छ । अवैध व्यापारका कारण सरकारले राजस्व समेत गुमाइरहेको छ । सीमा व्यवस्थापन नहुँदा राजस्वमा मात्र असर पुगेको होइन सीमामा रहेको भन्सार कार्यालयहरुमा समेत समस्या छ ।

भन्सारका कर्मचारीले सीमामा हुने तस्करी रोक्न खोज्दा प्रहरीको सहयोग समेत पाएका छैनन् । मंसिर अन्तिम सातामा तस्करी कारोबारीलाई रोक्न खोज्दा भन्सार कार्यालयका कर्मचारीमाथि हातपात भयो तर प्रहरीले कर्मचारीलाई सहयोग गरेन् । भन्सारका कर्मचारीमाथि हुने हातपात र दुर्व्यवहारमा प्रहरीले सहयोग नगर्नुले सीमानाकामा हुने तस्करीमा प्रहरीको संरक्षण र भित्री संलग्नमा रहेको संकेत गर्छ ।

प्रहरी नै तस्करको गतिविधिमा मौन बस्नुले खुला सीमाको कारण राजस्व चुहावट, तस्करी, अवैध कारोबारले निरन्तर प्रोत्साहन पाउँदै आएको छ । यी सम्पूर्ण कुरालाई नियन्त्रणमा लिनको लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका हुन् । कुनै पनि तस्कर, बिचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनैखाले संरक्षण नदिन निर्देशन दिँदै अबका दिनमा उनीहरुले संरक्षण पाउँदैनन् भन्ने विषयमा आफू विश्वस्त भएको उनले बताएका छन् । उनको निर्देशन कार्यान्वयन भएको खण्डमा निजी क्षेत्रले भन्दै आएको करिब ४० प्रतिशतको अवैध कारोबार नियन्त्रण हुन्छ, नभएको खण्डमा भने राजस्व चुहावट, अवैध तस्करी तथा कारोबारले निरन्तरता पाउने निश्चित रहेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको बैठकमा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणका साथै, शीतलहरबाट नागरिकलाई जोगाउन, मिटरब्याजी छानबिन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनलगायतका १८ वटा बुँदामा निर्देशन दिएका छन् । विपद्का समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्व राख्छ । ‘शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्वतयारी एवं प्रतिकार्यका लागि तयार हौँ, मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिनुहोस् र सत्यनिष्ठा र सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न धेरैजसो प्रमुख जिल्ला अधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत अधिकार प्रत्यायोजन भएको हुनाले तपाईंहरू भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने गराउने जिम्मेवारीमा हुनुहुन्छ भन्ने नबिर्सनुहोस्। जिल्लाभित्र कुनै पनि निकायमा कुनै पनि तरिकाबाट हुने भ्रष्टाचार नियन्त्रण गर्न कानुनप्रदत्त भूमिका प्रभावकारी रूपले निर्वाह गर्नुहोस्’, निर्देशनमा भनिएको छ ।

सरकार अभिभावक हो भन्ने भावना निर्माण गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ छ । तृणमूल तहका नागरिकहरूमा सरकारप्रतिको विश्वास आर्जन गर्ने र सरकार मेरो अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारीमा तपाईंहरू हुनुहुन्छ । भुइँमान्छेका आवाज केन्द्रसम्म पु-याउने र सुनुवाइको अवसर सिर्जना गर्ने भूमिका निर्वाह गर्नु, नागरिकहरूमा समस्या सुन्दा र समाधानको पहल गर्दा समभावसहित गर्ने, क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्यांकनको दीर्घकालीन प्रभावबारे विचार गरी निर्णय गर्नुपर्ने, मन्त्रालयमा राय माग्नुपूर्व सम्बन्धित विषयमा विद्यमान कानुनी तथा कार्यविधिगत व्यवस्था एवं अभ्यासका बारेमा पर्याप्त अध्ययन गर्न र पारस्परिक सिकाइबाट समस्याको समाधान गर्ने प्रयत्न गर्न उनीहरुलाई मन्त्री लामिछानेले आग्रह गरेका छन् । उनले सर्वसाधारणलाई सरकारको भान गराउन तथा सहज सेवा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई न्याय सम्पादनमा निष्पक्ष भएर लाग्न, सुशासन कायम गर्न, नागरिकता र राहदानी वितरणमा सहजीकरण गर्न आग्रह गरेका छन् । जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन, निर्णयमा ऐन, नियम, कानुन, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्न, न्याय गर्दा लिपिबद्ध कानुन मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्न पनि उनले सुझाएका छन् । त्यस्तै, यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्ने हुँदा विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइँ पनि लेख्न गृहमन्त्रीको आग्रह छ । सेवा प्रवाह सरलीकरण र सुधारका नवीन र नवप्रवर्तनात्मक उपायहरू खोज्न र प्रयोगमा ल्याउन, जिम्मेवारी पन्छाउने कामले जनविश्वास कमजोर पार्दछ भन्ने मनन गर्न, सीमित स्रोत र साधनका बीच सुशासन र सेवाप्रवाहका दृष्टिले उत्तम कार्य गरी जनताको मुहारमा खुसी ल्याउन सकेको आफ्नो सेवा अवधिको स्वर्णकालको रूपमा रहने गरी आफूले गर्व गर्नसक्ने समयको रूपमा यो कार्यकालको उपयोग गर्न र राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गरी काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न उपलब्ध सबै प्रयत्न र नवप्रवर्तनकारी उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ । सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न अभ्यास गर्न वा सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मन्त्री वा सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानुन, साधन र स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन तथा कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित समस्याहरूबारे सोमबार बेलुकीसम्म लेखी पठाउन मन्त्री लामिछानेले आग्रह गरेका छन् ।

यस्तै, मंसिर अन्तिम साता शुक्रबार राति साढे ११ बजे विराटनगर भन्सारका कर्मचारीलाई सीमा प्रहरी कार्यालय अगाडिबाट सामान ओसारपसार गर्ने तस्कर समूहले हातपात गरेका हुन् । उक्त घटनामा सुरक्षा निकायले भन्सार कर्मचारीलाई सहयोग नगरेको भन्सार कर्मचारीको आरोप छ । नेपालतर्फ मूल भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय रानी (ख) नजिकैबाट तस्करी भइरहेको अवस्थामा फेला परेको सामान खोस्ने क्रममा कारोबारी र तस्करले कर्मचारीलाई हातपात गरेका हुन् । सोही घटनाको केही दिनपछि भने प्रहरी दबाबका कारण तस्करलाई प्रक्राउ गर्न बाध्य भएको थियो ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढेको बताएका छन् । नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको र सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजस्व समेत गुमाइरहेको उनको भनाइ छ । ‘सीमाबाट हुने राजस्व चुहावट नियन्त्रण हुनसकेको छैन । कसैले राजस्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजस्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ,’ उनले भनेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x