Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्लाहीमा १५ बिघा जग्गामा लगाइएको गाँजा फँडानी

सर्लाहीमा १५ बिघा जग्गामा लगाइएको गाँजा फँडानी


सर्लाही । गाँजाखेती नष्ट गर्ने अभियान थालेको सर्लाही प्रहरीले प्रहरीले दुई दिनमा १५ बिघाभन्दा बढी क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको छ । प्रहरीले आइतबार मात्रै जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलाको आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको थियो । यस्तै सोमबार थप नौ बिघामा लगाइएको गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आएका एसपी नरेशराज सुवेदीले हाजिर भएको केही साता नबित्दै गाँजाखेती नष्ट गर्ने अभियान थालेका हुन् । गाँजाखेती नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट पनि इन्स्पेक्टरकै कमाण्डमा ६० जना प्रहरी टोली नारायण खोला पुगेको थियो । लालबन्दी –१४ का विभिन्न स्थानमा गाँजाखेती भइरहेको छ, भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा र आसपासका १५ बिघा बढीको क्षेत्रफलमा लगाई तयारी हुन लागेको गाँजा फँडानी गरेको हो । एसपी नरेश सुवेदीले आफू शुक्रबार जिल्लामा हाजिर हुनासाथ नारायण खोलामा कानुनद्वारा निषेध गरिएको गाँजाखेती भइरहेको सूचना पाएको बताएका थिए । सूचनाबमोजिमकै गाँजाखेती भइरहेको देखेपछि आइतबारबाट प्रहरी टोली पठाएर फँडानी गर्न सुरु गरेको उनले बताए ।

उनले अब निरन्तर प्रहरी पठाएर नारायण खोलामा भइरहेको प्रतिबन्धित गाँजाखेती नष्ट गर्ने अभियान चलाउने बताए । नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको भए पनि स्थानीयले गाँजाको खेती गर्न भने छाडेका छैनन् । जिल्लाको दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्दै आइरहेका छन् । अन्न उत्पादनले दुई महिना पनि नधान्ने भएपति बाध्य भएर गाँजा खेतीमा लागेको एक स्थानीयले बताए । तयार हुनै लागेको गाँजा एक्कासि प्रहरी आएर नष्ट गरिदिँदा आफूहरू ठूलो मारमा परेको उनीहरूको गुनासो छ । सडक नपुगेका कारण त्यहाँका स्थानीय खोलाको बगरबाट हिँड्न पर्ने बाध्यतामा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x