Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार वाणिज्य बैंकले पाए मर्जरको अन्तिम स्वीकृति

चार वाणिज्य बैंकले पाए मर्जरको अन्तिम स्वीकृति

बैंकहरूको संख्या २६ बाट २१ मा झर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले थप चारवटा वाणिज्य बैंकहरुलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यसैगरी सोही दिन बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पनि मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले पुस ७ गते साधारणसभा गरी मर्जरको प्रस्ताव पारित गरेका थिए । मर्जरमार्फत यी दुई बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गर्नेछन् । उक्त नामबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले यी दुई बैंकलाई स्वीकृति दिइसकेको छ ।

ग्लोबल आईएमई बैंक र बीओकेको मर्जरको हकमा भने यी दुई बैंकले ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले सोही नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । यसअघि यी दुई बैंकले ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्न प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गर्दै सोही नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न राष्ट्र बैंकसँग अनुमति माग गरेको थियो । तर राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त नाम निकै लामो भएको भन्दै ग्लोबल आईएमई बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्न अनुमति दिएको थियो । मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका यी चार बैंकले कम्पनी रजिष्टर्डको कार्यालयबाट स्वीकृति पाएलगत्तै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् ।

यसैबीच, पछिल्लो समय थप पाँच दर्जन वाणिज्य बैंकहरु मर्जरको प्रक्रियामा रहेको र यसमध्ये केहीले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका छन् । सोही आधारमा वाणिज्य बैंकहरुको संख्या २६ वटाबाट घटेर २१ वटामा झर्ने भएको छ । यही पुस १७ गते अर्थात् आइतबारबाट कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले एकीकृत कारोबार सुरु गरिसकेका छन् । दुवै बैंकले मर्जरमार्फत कुमारी बैंक लिमिटेडको नामले एकीकृत कारोबार सुरु गरेका हुन् । सो अनुसार आइतबारबाट वाणिज्य बैंकहरुको संख्या २५ वटामा झरिसकेको छ । यीबाहेक मर्जरको प्रक्रियामा अन्य आठवटा बैंकहरु पनि रहेको र यी बैंकहरुले पनि एकीकृत कारोबार सुरु गर्दा वाणिज्य बैंकहरुको संख्या २१ वटामा झर्ने देखिएको हो ।

No description available.

मर्जरको प्रक्रियामा रहेका बैंकहरुमा ग्लोबल आर्ईएमई बैंक र बैंक अफ काठमाण्डू, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक, हिमालयन बैंक र सिभिल बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक रहेका छन् । यीमध्ये ग्लोबल आईएमई र बीओके एवं नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई नेपाल राष्ट्र बैंंकले मर्जरको लागि अन्तिम स्वीकृति दिइसकेको छ भने बाँकी बैंंकहरु स्वीकृतिको प्रक्रियामा रहेका छन् । मर्जरको लागि अन्तिम स्वीकृति पाएको ग्लोबलले बीओकेलाई आफूमा गाभेर ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आर्ईएमई बैंकको नाउँमा एकीकृत कारोबार सुरु गर्नेछ ।

यसैगरी प्रभु र सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि २१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्नेछ । हिमालयन बैंक र सिभिल बैंक पनि मर्ज भएपछि २१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्नेछ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी पनि ३४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यही आइतबार मात्र मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेको कुमारी बैंक लिमिटेड (नेपाल क्रेडिट एण्ड कमर्स बैंक) को चुक्ता पुँजी पनि २६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x