Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ को नाम र राजधानीका लागि हुने निर्वाचनको कार्यविधि तयार

प्रदेश २ को नाम र राजधानीका लागि हुने निर्वाचनको कार्यविधि तयार


जनकपुरधाम, फागुन ३०
प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि हुने निर्वाचनसम्बन्धी कार्यविधि तय गरिएको छ । बिहीबार प्रदेशसभामा सहभागी दलहरूका प्रमुख सचेतकको उपस्थितिमा निर्वाचनसम्बन्धी कार्यविधि तय गर्ने उद्देश्यले बसेको बैठकबाट कार्यविधि र आचारसंहिता तयार पारी सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाको अध्यक्षतामा बसेको सो बैठकबाट तयार पारिएको कार्यविधिमा गोप्य मतदान प्रक्रिया र मतगणनालगायतका कुरा समेटिएको छ । यसका साथै मतदाताहरूले पालन गर्ने आचारसंहितासमेत संवैधानिक व्यवस्थाअनुसार तयार पारिएको र प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्वाचन अधिकृत बनाइएको राजपाका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिए ।

शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा पछिल्लो पटक दलहरूले राजधानी र नामका लागि दर्ता गराएको प्रस्तावमा सहमति जुटाउने प्रयास गर्ने, सहमति नजुटेपछि सोही बैठकबाट तयार पारिएका कार्यविधि र आचारसंहिता पारितका लागि पेश गरिने जनाइएको छ । प्रमुख सचेतकले तयार पारेको कार्यविधि र आचारसंहिता पारित भएपछि शनिबार बिहान निर्वाचन गराउने प्रस्तावसमेत अघि बढाइने प्रमुख सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिए ।

प्रदेशको स्थायी राजधानीका लागि दलहरूबीच सभामुख संयोजक रहेको विशेष समितिबाट टुंगो लगाइए पनि निर्वाचन प्रक्रियाबाट नै पारित गराउने कार्य सम्पादन समितिको पछिल्लो बैठकबाट निर्णयानुसार मतदान नै हुने भएको छ । प्रदेशको नाममा दलहरूबीच विशेष समितिको अथक प्रयासका बावजुद सहमति जुटन नसकेपछि अन्ततः गोप्य मतदानबाट नै टुंगो लगाउने कार्य सम्पादन समितिको बैठक निर्णय गरिएको थियो ।

सत्तारुढ दल समाजबादी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश र प्रतिपक्षी कांग्रेसले मिथिला प्रदेशको प्रस्ताव दर्ता गराएको थियो । विशेष समितिको बैठकमा प्रतिपक्षी दलहरूले लचकता अपनाउँदै नेकपाले जानकी मधेश र कांग्रेसले मिथिला भोजपुरा मधेश प्रदेश राख्न सक्ने निर्णयमा पुगेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि मतदान प्रकियाबाट प्रदेश दुईको नामाकरण गरिने छ । स्थायी मुकाममा भने जनकपुरधाम रहने दलहरूबीच सहमति भइसकको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x