Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमालय टिभीमा भाँडभैलो

हिमालय टिभीमा भाँडभैलो


काठमाडौं, चैत २
नेपालमा सञ्चालित टेलिभिजनहरुमध्ये सर्वश्रेष्ठ बनाउने उत्साहका साथ युवा सञ्चार उद्यमी धर्मराज भुसाल र श्याम प्रसाद कँडेल भनिने होमप्रसाद कँडेलको जोडीले झण्डै दुई वर्षअघि ललित अग्रवालसँग २० करोड रुपैयाँमा खरिद गरेको हिमालय टिभीमा अहिले भाँडभैलो मच्चिएको छ । भुसाल र कँडेलले २०७५ जेठ २१ गते हिमालय टिभीको ९० प्रतिशत सेयर खरिद गरेका थिए र १० प्रतिशत सेयर ललित अग्रवालको छोरा चेङ अग्रवाललाई दिएर सञ्चालक बनाउने वचन दिएको बताइएको छ तर अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन ।

गत बुधबार मात्रै टिभी राखिएको आफ्नै घर कमाउण्डभित्र छिर्न लाग्दा सेक्युरिटी गार्डले रोकेपछि अग्रवालले प्रहरी लगाउने धम्की समेत दिएका थिए । उक्त घटनापछि यसअघि भुसको आगोजस्तै भित्रभित्रै फैलिएको भुसाल र अग्रवालबीचको विवाद एकाएक सतही बनेको छ । दुई करोड रुपैयाँ मूल्यको चेङ अग्रवालको नाममा राखिएको दश प्रतिशत सेयर चेपचाप पारेर कम मूल्यमा फुत्काउन टिभी खरिदकर्ता भुसालले बिक्रीकर्ता ललित अग्रवाललाई दिनुपर्ने बाँकी रकम नदिएको आरोप लगाएर अग्रवाल अदालतदेखि कम्पनी रजिष्ट्रारको कार्यालयसम्म मुद्दा हाल्न पुगेका छन् ।

अग्रवालले भुसाल र कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६१ लाख रुपैयाँको चेक बाउन्सको मुद्दा हालेका छन् । हिमालय टिभी अग्रवालको घरमै राखिएको थियो र अहिले टिभी खरिदकर्ताले पनि त्यही घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ । तर भाडामा लिनेले भाडा नदिएको भन्ने आरोप लगाएर बहाल भराई घर खाली गराइपाऊँ भनी अग्रवालले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् । भुसालले विगत नौ महिना अघिदेखि नै भाडा नतिरेको आरोप लगाइएको छ । उनीहरुले पहिलो वर्ष मासिक २ लाख ५० हजार रुपैयाँ र त्यसपछि वर्षेनी १५ प्रतिशत भाडा वृद्धि गर्दै जाने सहमति गरेका थिए । अग्रवालले हिमालय टिभी कम्पनीको कारोबारसँग सम्बन्धित सम्पूर्ण कागज झिकाइपाऊँ भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि उजुरी गरेका छन् । अग्रवालले उक्त उजुरीमा कम्पनी बिक्री गर्दाको सम्झौता पालना नगरिदिएको आरोप लगाएका छन् । टिभी बिक्री गर्दा ९० प्रतिशत सेयर भुसाल र कँडेलको नाममा र १० प्रतिशत सेयर चेङ अग्रवालको नाममा राखेर उनलाई सञ्चालक समितिमा राख्ने सहमति भएको जिकिर गरिएको छ ।

अग्रवालले टिभी बिक्री गरेको दुई वर्ष बित्न लाग्दा पनि आफूले पाउनुपर्ने झण्डै सात करोड रुपैयाँ नपाएको दाबी गर्दै आएका छन् । टिभी खरिदबिक्री नहुँदै हिमालय टिभी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले ३० करोड रुपैयाँमा किन्न लागेको र १ करोड रुपैयाँ बैना दिएको चर्चा चलेको थियो । तर अहिले नयाँ साहु र पुरानो साहुबीचको विवाद छताछुल्ल हुँदा त्यसमा शेष घलेको नाम कतै पनि देखिएको छैन । आफूलाई व्यक्तिगत जमानी राखेर नयाँ मालिकले बैंकबाट १३ करोड रुपैयाँ ऋण लिएको र सेयर कटाएपछिको १८ करोड रुपैयाँमध्ये झण्डै सात करोड रुपैयाँ आफूले पाउनुपर्ने टिभी बेचेको दुई वर्ष पुग्न लाग्दा पिन भुसालबाट नपाएपछि अग्रवाल अड्डा अदालतसमक्ष उजुरी गर्न पुगेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x