Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालोसूचीमा परेको कम्पनीलाई औषधि सप्लाईको जिम्मा

कालोसूचीमा परेको कम्पनीलाई औषधि सप्लाईको जिम्मा


काठमाडौं,काठमाडौंको मिनभवनस्थित सरकारी निजामती कर्मचारी अस्पतालले टेन्डर प्रक्रियामार्फत जीवनरक्षक मेरो पेनम इन्जेक्सनसँगै एन्टिबायोटिक लगायतका विभिन्न प्रकारका औषधि खरिदको जिम्मा अस्पतालका निर्देशक डा. विधाननिधि पौडेल नेतृत्वको डीटीसी कमिटीले सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको औषधि कम्पनीलाई दिएको छ ।

निजामती कर्मचारी अस्पतालमा करिब आठ करोड लागतको टेन्डरको औषधि सप्लाईमा सेटिङसहितको आर्थिक अनियमितता भएको समाचार आर्थिक दैनिकले प्रकाशित गर्ने क्रममा निजामती अस्पतालले गत माघ २३ गते प्रकाशित बोलपत्र स्वीकृतिको आशयपत्रमा औषधि सप्लाईका लागि स्वीकृत गरिएको १६ कम्पनीमध्ये सर्जिमेड डिष्ट्रिब्युटर्सलाई १०४ प्रकारका औषधि सप्लाईको स्वीकृति सदर गर्दै निजामती अस्पतालले सर्जिमेड डिष्ट्रिब्युटर्सलाई पुरस्कृत गरेको हो  ।

औषधि सप्लाईका लागि अस्पताल प्रशासनले सार्वजनिक खरिद ऐन २०६३ अनुसार गरेको आह्वानको सूचना औषधि सप्लाईका लागि दर्जनौँ यूएसएफडीए, ईयूजीएमपी र डब्लुएचओजीएमपी सर्टिफाई कम्पनीले आवेदन गरे पनि पनि ड्रग थेरापिटिकल कमिटी अर्थात् डीटीसीको सिफारिस भन्दै कमिटी सम्बद्ध अधिकारीसँग आर्थिक सेटिङ्गमा बोलपत्र स्वीकृत गरेको डीटीसी कमिटी प्रमुख डा. पौडेलले सर्जिमेड डिष्ट्रिब्युटर्सलाई टेन्डर प्रक्रियामा सहभागी गराएको अस्पताल सम्बद्ध उच्च स्रोतको दाबी छ ।

१०४ प्रकारका औषधि सप्लाईको स्वीकृति पाएका सर्जिमेड डिष्ट्रिब्युटर्सलाई गत भदौ ८ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्टको आधारमा आगामी २०८० भदौ ६ गतेसम्म कायम रहने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको सूचना कार्यालयको वेबसाइटमा छ ।

कालोसूचीमाा परेको कम्पनीसँग सप्लाईको साथै निर्माणकार्य पनि सरकारी निकायले गराउन मिल्दैन । सोही व्यहोराको सूचना सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको छ । तर जारी सूचनालाई बेवास्ता गर्दै सरकारमातहतकै निजामती अस्पतालले निर्बाध रुपमा उक्त कम्पनीलाई खरिद कारबाहीमा सहभागी गराएको छ ।

यस विषयमा कम्पनी सम्बद्ध चेतन अग्रवाललाई सम्पर्क गर्दा उनले सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको भनिएको मुख्य व्यक्ति उमेश कुमार अग्रवाल रहेको सर्जिमेड डिष्ट्रिब्युटर्स कम्पनीसँग आफ्नो कुनै सरोकार नभएको र आफ्नो कम्पनी सर्जिमेड डिष्ट्रिब्युटर्स प्रालि पान नं. ६०६८२८१२८ रहेको जानकारी दिँदैै सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा सर्जिकेम डिष्ट्रिब्युटर्स पान नं. ३००२१६२७३ लाई कालोसूचीमा राख्नुपर्नेमा भूलवश आफ्नो कम्पनीको नाम आधा अपूरो राखिएको स्वीकार गर्दै नाम सार्वजनिक गरेका कारण धेरै ठाउँमा अनेक प्रस्टीकरण दिँदै काम गर्नुपरेको बताए । सर्जिकेम होस् वा सर्जिमेड डिष्ट्रिब्युटर्स वा सर्जिमेड डिष्ट्रिब्युटर्स प्रालि समेतको वतन धरान, सुनसरी १ नै छ ।

त्यस्तै उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान खरिद महाशाखाका डेपुटी मेनेजर सागर कुमार ताम्राकारको हस्ताक्षर रहेको पत्रमार्फत २०७९ पुस ६ गते आफ्नो कम्पनी सर्जिमेड डिष्ट्रिब्युटर्स प्रालिले कालोसूचीमा राख्नुपर्ने कुनै काम कारबाही नगरेको जानकारीसहित प्रतिष्ठानले २०७९ पुस ५ गते सार्वजनिक खरिद अनुगमन कार्यालय समेतलाई पत्राचार गरिसकेको बताए । साथै उनले आफ्नो कम्पनीलाई अनेक उल्झनमा पार्ने निकायविरुद्ध न्यायालय जाने तयारी समेत भएको बताए ।

स्रोतका अनुसार सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखिएका मुख्य व्यक्ति उमेश कुमार अग्रवाल, धरान १ पृथ्वीमार्ग सुनसरी ठेगाना रहेको सर्जिमेड डिष्ट्रिब्युटर्स र धरान १ सुनसरी ठेगाना रहेको सर्जिमेड डिष्ट्रिब्युटर्स प्रालिका चेतन अग्रवाल दाजुभाइ हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया