Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित


काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ । रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो । रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #8, #Page 8

तपाईको प्रतिक्रिया