Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगमा लगानी प्रतिबद्धता १२ प्रतिशतले घट्यो

उद्योगमा लगानी प्रतिबद्धता १२ प्रतिशतले घट्यो


काठमाडौं, चैत ४
पछिल्लो समय नेपालको उद्योग क्षेत्रमा लगानी स्वीकृतिमा १२ प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को आठ महिनाको तुलनामा गत आव (२०७५/०७६) को सोही अवधिको तुलनामा उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा १२ प्रतिशतले कमी आएको छ ।

चालू आवको आठ महिनामा अर्थात् साउनदेखि फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा एक खर्ब २७ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । जुन गत आवभन्दा १८ अर्ब ९३ करोड १७ लाखले कमी भएको विभागले जानकारी दिएको छ । गत वर्षको सोही समयमा भने एक खर्ब ४६ अर्ब ८५ करोड आठ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता तीन सय १५ वटा उद्योग स्थापना गर्नका लागि आएको हो । चालू आवमा लगानीकर्ताहरुले दुई सय ४२ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागका अधिकारीहरुले भने कोरोना भाइरस (कोभिड १९) का कारण नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मा कमी आउँदा लगानी प्रतिबद्धतामा समेत कमी आएको बताएका छन् । उद्योगमा स्वदेशी लगानी आए पनि विदेशी लगानी बढ्न नसकेको उनीहरुको भनाइ छ ।

यस्तै चालू आवमा गत आवको तुलनमा लगानीसँगै उद्योगको संख्या समेत घटेको छ भने चालू आवको आठ महिनाको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामूलक उद्योगमा आएको छ । सबैभन्दा कम लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको विभागले जनाएको छ । चालू आवको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा उद्योगमा ८० अर्ब ७९ करोड ३७ लाख लगानी प्रतिबद्धता जनाउँदा कृषिजन्य तथा वन पैदावरमा एक अर्ब १२ करोड ६४ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले कृषिजन्यमा नौ वटा तथा ऊर्जामा ३६ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यस्तै लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा दुई अर्ब ८४ करोड, उत्पादनमा १६ अर्ब ९४ करोड ११ लाख, सेवामा छ अर्ब ८४ करोड पाँच लाख र पर्यटनमा १९ अर्ब ३७ करोड ७२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सूचना–प्रविधिमा १७ वटा, उत्पादनमा ५७ वटा, सेवामा ३९ वटा र पर्यटनमा ८४ वटा गरी कुल दुई सय ४२ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग स्थापना गर्ने प्रतिबद्धतासँगै लगानीकर्ताहरुले कृषिमा तीन सय ८१ जना, ऊर्जामा एक हजार सात सय ७२ जना, सूचना प्रविधिमा एक हजार सात सय ८१ जना, उत्पादनमा चार हजार दुई सय दुई जना, सेवामा तीन हजार तीन सय ३८ जना र पर्यटनमा चार हजार दुई सय ३९ जना गरी कुल १५ हजार सात सय १३ जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।

यस्तै गत आवको सोही समयमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा एक अर्ब ४८ करोड ४३ लाख, निर्माणमा एक अर्ब दुई करोड ४० लाख, ऊर्जामा ९३ अर्ब ४५ करोड ५५ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ३८ करोड ५९ लाख, उत्पादनमा ३८ अर्ब पाँच करोड २६ लाख, सेवामा चार अर्ब ९८ करोड १० लाख र पर्यटनमा सात अर्ब ४५ करोड ४७ लाख र खनिजमा एक करोड २८ लाख लगानी प्रतिबद्धता जनाएका थिए । तीन सय १५ वटा उद्योेग स्थापना तथा १६ हजार एक सय २० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए ।

नेपालको उद्योग क्षेत्रमा नेपालीसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने बताउँदै आएका छन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप चालू आवमा नैैै नेपाली व्यवसायीहरुसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरु उद्योग सञ्चालनका लागि विभागबाट लगानी स्वीकृत गराउँदै आएका छन् ।

यस्तै चालू आवको पछिल्लो छ महिना र माघ महिनामात्र आएको लगानी प्रतिबद्धतालाई हेर्दा भने एक महिनाको अवधिमा भने उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता १८ अर्ब ४२ करोड ७३ लाखले वृद्धि भएको पाइन्छ । चालू आवको छ महिनाको अवधिमा भने उद्योग क्षेत्रमा ९१ अर्ब ३० करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

नेपालका व्यावसायिक समूहहरु चौधरी ग्रुप, शंकर ग्रुप, जगदम्बा ग्रुप, सेन्चुरी ग्रुप, वैद्य अर्गनाइजेसन, सूर्य नेपाललगायतका समूहले नेपालको उद्योग क्षेत्रमा लगानी गर्नुका साथै एफडीआई समेत आउने गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ बमोजिम विभागले विदेशी लगानीकर्ताहरुको हकमा उद्योगमा गरिने लगानीमध्ये पाँच करोडदेखि छ अर्बसम्म लगानी स्वीकृत गर्ने गर्छ ।

धेरै लगानी स्वीकृत गराउने मुलुकहरुमा भने छिमेकी मुलुक भारत र चीन छन् भने त्यसपछि क्रमशः अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुक रहेका छन् । विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएको पाइन्छ भने स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकला लगायतका उद्योगीहरुमा लगानी गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x