Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति


पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छिन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको बुधबार उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पु-याउन सकिने बताइन् ।

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ छ । ‘सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्’, उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, सम्वद्र्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।’ जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको उनले बताइन् । प्रसिद्ध वराहताल संरक्षणका लागि समुदायस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिदैँ उनले पर्वत जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्य सचिव शंकरदास वैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । लामिछाने र घर्ती क्षेत्री समुदायले एक करोड ५० लाख रुपैयाँको लागतमा दुईवटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् । मन्दिर पुनर्निर्माणको मुख्यदाता रवीन्द्रजंग लामिछनेले २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको निर्माण समितिका नवीन जिसीले जानकारी दिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त वराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुगेको बताए ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको वराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मागेको वर पूरा हुने विश्वास गर्ने गरिएको वराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया