Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशछायाँक्षेत्र मन्दिरमा पाँचलाख बढी भेटी सङ्कलन

छायाँक्षेत्र मन्दिरमा पाँचलाख बढी भेटी सङ्कलन


वालिङ । छायाँक्षेत्र शिव मन्दिरमा रु. पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा रु. पाँच लाख १४ हजार छ सय ९७ भेटी सङ्कलन भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एकलाख ५१ हजार आठ सय, भजनकीर्तनमा चढाएको दानबाट एकलाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१ हजार तीन सय र पार्किङबाट सात हजार सात सय ४५ रकम सङ्कलन भएको हो ।

महाशिवरात्रिका अवसरमा मन्दिरमा देशका विभिन्न ठाउँबाट बीस हजार बढी श्रद्धालु भक्तजनले दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त राससलाई पौडेलले बताए । विभिन्न शीर्षकमा सङ्कलन भएको रकमलाई मन्दिरको भौतिक पूर्वाधारको विकासमा खर्च गरिने उनले बताए ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिए अनुसार पार्वतीको शेष रहेका सबै अङ्ग यसै ठाउँमा पतन भएको किंबदन्ती रही आएको छ । भगवान शिव ब्याकुल भई त्रिशूल प्रहार गरी जल उत्पत्ति गरेको र सोही जल आज पनि ढुङ्गाको कोप्चेराबाट छङछङ गर्दै बहिरहेकाले यस ठाउँलाई ‘छाङ्छाङ्दी’ पनि भन्ने गरिएको जनाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया