Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशप्रधानमन्त्रीद्वारा माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्रीद्वारा माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन


काठमाडौं । गोरखा जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाउँपालिकामा निर्माणसम्पन्न ४ दशमलव ५५ मेघावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दाहालले भर्चुअल रूपमा टरबाइन सञ्चालन गरी उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । यस्तै उनले हाइड्रो निर्माणमा संलग्न गैरआवासीय नेपालीहरू र स्थानीय लगानीकर्ताहरूको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्दै एनआरएनएहरूलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री दाहालले १३२ केभीएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणको लागि सरकारले तत्काल काम सुरु गर्ने समेत बताए । उनले सरकारको अबको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा तत्कालै निर्माण गर्नुपर्ने बताए । उनले यसको लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै ट्रान्समिसन लाइन नबन्दा धेरै हाइड्रोहरूलाई समस्या भएको उल्लेख गरे । बजगाईले गोर्खामा बुढीगण्डकीसँगै अन्य धेरै हाइड्रोको प्रचुर सम्भावना रहेको बताए । कार्यक्रममा विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेले गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको यस हाइड्रोमा गैरआवासीय नेपालीहरूको ठूलो लगानी रहेको बताए । यस्तै एनआरएनएका कोषाध्यक्ष एवं हाइड्रोका लगानीकर्ता लोक दाहालले दिइएको समयसीमामा कैयौँ हाइड्रो नबनेको अवस्थामा विकास हाइड्रोले भने छ महिनापहिले नै निर्माण सम्पन्न गरेको बताए ।

गोरखाको धार्चे गाउँपालिकामा रहेको बुढी गण्डकी नदिको सहायक नदी माछा खोलामा करिब एक अरब लगानीमा निर्माणसम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋणमार्फत लगानी रहेको छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौताअनुुसार २०८० साल असार ३० गते विद्युत् उत्पादन सम्पन्न गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा छ महिनाअगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी उत्पादन सुरु गरेको हो । यस आयोजनाले निर्माण अवधिमा सो क्षेत्रका एक सय ५० भन्दा धेरै स्थानीयलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माणसम्पन्नपश्चात् आयोजना सञ्चालनका लागि २० भन्दा माथि व्यक्तिहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी अवसर प्रदान गरेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित यस आयोजनामा गैरआवासीय नेपालीहरूसँगै स्वदेशका व्यावसायीहरूको उत्साहजनक सहभागिता र लगानी रहेको छ । उक्त हाइड्रो सम्पन्न गरेलगत्तै अर्को हाइड्रो पनि निर्माण सुरु गरिने सञ्चालकहरूले घोषणा गरेका छन् । यस कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठलगायतका युवा व्यवसायीहरू रहेका छन । यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ । स्थानीय क्षेत्रमा बासिन्दाहरू हिँडडुल गर्ने बाटोघाटो र पुलको मर्मत गरिएको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले खुद मुनाफाको १ प्रतिशत रकमको व्यवस्था गरी खर्च गर्ने प्रचलन रहेको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया