महोत्तरीमा डढेलोले सखाप हुँदै वन
महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।
बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ ।
डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ । साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन् ।
“दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउँछन् ।
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले राससलाई बताए । “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया