Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशउच्च घरानाका उद्योगी व्यवसायीको कारण खराब कर्जामा वृद्धि

उच्च घरानाका उद्योगी व्यवसायीको कारण खराब कर्जामा वृद्धि


विराटनगर ।  उच्च घरानाका उद्योगी व्यवसायीको कारण बैंकहरुको खराब कर्जा बढेको छ । ठूला उद्योगी व्यवसायीले समयमा नै ऋण नतिर्दा खराब कर्जामा भारी मात्राले वृद्धि भएको हो । खराब कर्जाका कारण देशको बैंकिङ प्रणालीमा निकै ठूलो दबाब रहेको विस्तारै खुुल्न थालेको छ ।

नेपालमा केही मुठ्ठीभर उच्च घरानाका व्यक्ति र समूहमा मात्रै बैंकहरुले लगानी गरेको भन्दै सार्वजनिक रुपमा आलोचना समेत हुँदै आएको छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सबैजसो बैंकहरुले केही निश्चित व्यावसायिक घराना र व्यक्तिहरूलाई मात्रै ऋण लगानी गरेको कारण उनीहरू समस्यामा पर्दा बैंकिङ प्रणाली नै अप्ठ्यारोमा परेको उल्लेख छ ।

उक्त प्रतिवेदन सार्वजनिक भएपश्चात् सुुनसरी मोरङ औद्योगिक करिडोरका उच्च घरानाका व्यवसायी समूह पछिल्लो समय समस्यामा परेको खुुल्नपुगेको हो । बैंकिङ कर्जाको गुणस्तर बिग्रिएर कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने करिडोरका व्यवसायीको भनाइ छ । त्यस्तो दबाबको संकेत बैंकहरुको खराब कर्जामा देखिन थालिसकेको छ ।

एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको र कुुन बेला बैंक नै धरापमा पर्ने हो भन्ने त्रास बढेको उल्लेख गरेको छ । विराटनगरमा रहेका विशाल ग्रुप, दुुगड समूह, सारडा समूह, गोल्छा समूह र भारतको भूषण समूहलाई बैंकहरुले ऋण लगानी गर्ने क्रममा गरेका कमजोरी नै बैंकिङ क्षेत्रको ठूलो समस्याको रुपमा देखिन थालेको पनि दाबी गर्न थालिएको छ ।

उक्त समूहहरु स्वयं बैंक सञ्चालक समेत छन् । आफ्नो लगानीको बैंकबाट कर्जा लिन नपाउने व्यवस्थाका कारण सहयोगी समूहको लगानीमा सञ्चालित बैंकबाट उनीहरुले ठूलो रकम कर्जा लिएपछि अधिकांश बैंकहरुमा खराब कर्जा बढेर गएको पाइएको छ । स्रोतका अनुुसार ब्याजमात्रै तिर्ने ऋणीलाई समेत ऋण थपिदिने काम बैंकहरुले गर्ने र छोटो अवधिका नवीकरणीय ऋण दिएर कतिपय निश्चित उच्च घरानाका व्यापारीलाई सधैँ सहजता उपलब्ध गराएपछि बैैंकहरुमा खराब कर्जा व्यापक बढेको गएको छ ।

उच्च घरानाका उद्योगी तथा व्यवसायी भएकै कारण ब्याजमात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्नेजस्ता कमी÷कमजोरी बैंकहरुले गरेपछि बैंकको कर्जा जोखिममा परेको बताउन थालिएको छ ।  स्रोतका अनुुसार सहकारीहरूले लगानी गरेको ऋणका कारण आफू कालोसूचीमा परिँदैन भन्ने जानेर ठूला ऋणीहरुले सहकारीको ऋण समेत ठूलो मात्रामा लिइरहेका छन् । यसरी बैंकहरूका ठूला ऋणीहरू नै सहकारीका समेत ठूला ऋणीका रुपमा छन् । एउटै व्यक्ति तथा समूहमा विभिन्न वित्तीय संस्थाहरूबाट अधिक कर्जा प्रवाह हुँदा पछिल्लो समय बैंकहरुको लगानीमा अत्यधिक जोखिम बढेको पनि बताउन थालिएको छ ।

बैंकहरुको खराब कर्जा अहिले निकै बढिसकेको छ । बैंकहरुको लापरबाही र कर्जा लगानीमा देखिएको असावधानीले गर्दा बैंकहरुको नाफा मात्र नभएर सम्पूर्ण वित्तीय प्रणाली नै जोखिममा पारेको बताउन थालिएको छ । यसरी औँल्याएका खराबीलाई कम गर्ने र वित्तीय प्रणालीलाई बलियो बनाउनेतर्फ बैंकहरुले नसोच्ने हो भने देशको आर्थिक संकटको थालनी वित्तीय क्षेत्र र उच्च घरानाका उद्योगी व्यवसायीदेखि स्वयं बैंक सञ्चालकहरुबाटै हुने भन्ने गम्भीर प्रश्न समेत उठ्न थालेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया