Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशकमजोर संरचनामा प्रहरीचौकी

कमजोर संरचनामा प्रहरीचौकी


गलकोट । ढुङ्गेछानो ढल्किएको छ, कोठाभित्रै छानोबाट प्रकाश आउँछ, पानी प-यो भने विस्तारा पोको पार्नुपर्छ । चुहिने ढुङ्गेछानोमा पाल टाँगिएको छ । यो कष्टकरपूर्ण अवस्थामा बसेको नेपाल प्रहरीले जनताको सुरक्षामा खटिना कसरी सक्ला ? यो कन्तविजोक अवस्थामा गुजारा चलाउँदै आएको छ इलाका प्रहरी कार्यालय भीमगिठे ।

जीर्ण भीमगिठे माध्यामिक विद्यालयको भवनमा बस्दै आएको इलाका प्रहरी कार्यालय आफैँ असुरक्षित छ । हावाहुरी आउँदा ढुङ्गा खस्ने र पानी पर्दा चुहिने गरेको छ । जीर्ण भवनका डाँडाभाटासमेत भाँचिएका छन् । जनताको शान्तिसुरक्षामा खटिने बागलुङका प्रहरीचौकी आफैँ असुरक्षित हुनु दुःखद् रहेको भीमगिठेका स्थानीय दीपक केसीले बताए ।

“चुहिने भवनमा कष्टका साथ वर्षौंदेखि बस्दै आएको इलाका प्रहरी कार्यालय निर्माणमा सरोकारवाला निकायले कुनै चासो दिएको छैन”, केसीले भने, “हावाहुरी लाग्दा पाल उडाउँछ, पानी पर्दा चुहिन्छ, यस्तो अवस्थामा बसेको प्रहरीले कसरी जनतालाई सुरक्षा दिन सक्ला ?”

यस विषयमा गाउँपालिकालेसमेत तत्कालै अस्थायी टहरा निर्माण गरेर भए पनि प्रहरीलाई बस्ने व्यवस्था मिलाउन आवश्यक रहेको केसीको भनाइ छ । पुरानो स्कूल त्यहाँबाट हटेपछि निजी घरमा बस्दै आएको प्रहरी कार्यालय अहिलेको स्थानमा बसेको थियो ।

अहिले प्रहरीको नाममा जग्गा प्राप्ति भइसक्दासमेत भवन निर्माणमा कतैबाट बजेट नआउनु दुःखद् रहेको केसीको भनाइ छ । बडीगाड भूगोलका हिसाबले निकै विकट रहेकाले २३ जनाको दरबन्दीमा अहिले १० जना मात्रै प्रहरी कार्यरत छन् ।

अहिले प्रहरी सहायक निरीक्षक उज्ज्वल शर्माको नेतृत्वमा रहेको प्रहरीचौकीले अव्यवस्थित बसोबाससँगै सुरक्षा दिइराखेको छ । चार वर्षअघि नै स्थानीयले चन्दा सङ्कलन गरी रु. १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद भइसकेको स्थानीय चन्दादातासमेत रहेका केसीको भनाइ छ ।

प्रहरीको भवन निर्माणका लागि आफूले कार्यकाल समाल्दा साथ पहल गरे पनि कतैबाट बजेट नआएको बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । उनले प्रहरीको भवन बनाउन गाउँपालिकाको बजेटले नसक्ने जनाउँदै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक प्रहरी कार्यालयको दूरावस्थाको विषयमा जानकारी गरिएको बताए ।

“आठ महिनादेखि बजेट विनियोजनका लागि पोखरा र काठमाडौँका तालुकदार मन्त्रालयमा धाएको छु, कतैबाट बजेट परेको छैन, बर्खा लाग्दा ओत्ने कसरी हो अहिले चिन्ताको विषय छ”, अध्यक्ष थापाले भने । इलाका प्रहरी कार्यालय भीमगिठे एउटा उदाहरण मात्रै हो ।

मालढुङ्गा प्रहरी चौकी, प्रहरी चौकी झिवाखोला र प्रहरीचौकी बोङ्गादोभानमा समेत भवन अभावमा प्रहरीलाई सास्ती भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले राससलाई जानकारी दिए।

“अहिले चार वटा प्रहरी कार्यालय भाडाकै घरमा छन्, केही प्रहरीचौकी जीर्ण अवस्थामा सञ्चालित छन्, सुविधा सम्पन्न भवनबाट जनताको सुरक्षामा खटिँदा सहज हुन्थ्यो, जिल्लाले समग्र प्रहरी युनिटको विषयमा केन्द्रमा जानकारी गराएको छ”, प्रहरी उपरीक्षक खड्काले भने, “जनशक्तिकोसमेत जिल्लामा अभाव छ, यो समस्या नेपालभरको हो, सीमित जनशक्तिलाई परिचालन गरेर अधिकतम सुरक्षा दिने हाम्रो प्रयास छ, तर प्रहरी आफैँ असुरक्षित भएर जनताको सुरक्षामा खटिन असहज नै हुन्छ ।”

प्रहरी युनिटको कुरा मात्रै नभएर जिल्ला प्रहरी कार्यालयमा आवास अभावका कारण भाडाका घरमा प्रहरी राख्नुपर्ने अवस्था रहेको खड्काको भनाइ छ । खड्काका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयमा प्रहरी आवास निर्माणाधीन अवस्थामा रहेको र निर्माण सम्पन्नपश्चात् सहज हुनेछ ।

बागलुङको प्रवेशद्वारमा रहेको प्रहरीचौकी मालढुङ्गाको त्यस्तै अवस्था छ । साँघुरो छाप्रोमा प्रहरी कोचाकोच सुत्नुपर्ने अवस्था छ भने बर्खामा जस्ताको छानो चुहिने गरेको छ । यस्तै प्रहरीचौकी निसीखोलाकोसमेत जीर्ण छ । निसीखोला गाउँपालिका–५ मा रहेको निसी प्रहरीचौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरी जीर्ण भवनमा असुरक्षित तरिकाले बस्न बाध्य छन् ।

जिल्लामा अहिले चार युनिट धम्जा प्रहरी चौकी बिहुँ, इलाका प्रहरी कार्यालय भिवाखोला, प्रहरीचौकी बोङ्गादोभान र प्रहरीचौकी भातखानेडाँडा भाडाको घरमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। धम्जा प्रहरी चौकी बिहुँको भने भवन निर्माण भइसकेको र भवनबाटै सेवा दिने तयारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया