Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्यात बढाउने नेपालको नीति असफल

निर्यात बढाउने नेपालको नीति असफल


काठमाडौं,नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक बित्न लागे पनि त्यसबाट आशातित लाभ लिन नसकेको प्रस्ट भएको छ । विश्व व्यापार संगठनमा प्रवेश गरेपछि नेपालले निर्यात बढाउने र आयातित वस्तुमा कमी ल्याउने विश्वास गरिए पनि त्यसको ठीक विपरीत देश थप आयातमुखी बन्दै गएको विज्ञहरुले नै स्वीकार गरेका छन् ।

काठमाडौंमा मंगलबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले आयोजना गरको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरुले विश्व व्यापार संगठनमा प्रवेश गरेको लामो समय बित्दा पनि नेपाल थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिन सुझाव दिएका थिए । यद्यपि अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव छ ।

नेपाल सन् २००४ मा नेपाल विश्व व्यापार संगठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीतिहरु असफल भएका छन् । यी नीतिहरु उत्पादकत्व वढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यावहारिक अनुसन्धान आवश्यक देखिएको विज्ञहरुले बताए ।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बेंगलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताएका थिए । खुलापनले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधि प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिने जिकिर गरे पनि नेपालमा भने उत्पादन घट्दै आयात बढिरहेको छ ।

उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुनसक्छन्’, उनले भने ।

उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटनलगायतका क्षेत्रमा काम गर्नसक्छ । तर, नेपालमा पर्यटनका लागि नयाँ गन्तव्य निर्माण नगरी होटल व्यवसायलाई मात्र पर्यटन भुलाउने योजना बनाइएको छ । त्यसले नेपालको पर्यटन व्यवसायको विकास हुनसकेको छैन । नेपालले पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि नयाँ गन्तव्य, मौलिक र सांस्कृतिक झलक, पदमात्र जस्ता विश्वमै फरक कार्यक्रम ल्याउनुपर्नेमा होटल व्यवसायलाई मात्र जोड दिएका छन् । यसले पर्यटन उद्योगको विकास गर्न सहयोग गर्नसकेको छैन ।

भारतीय सरकारको पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो’, उनले भने ।

उनका अनुसार अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव छ । ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन’, उनले भने । अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दाबी छ ।
कोरोना महामारी, रुस–युक्रेन युद्ध, अमेरिका–चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने बताए ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका बिजिनेस पोलिसी एण्ड स्ट्राटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन् । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरु दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुने उनको धारणा थियो ।

‘आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्वपूर्ण हुन्छ’, उनले भनिन्, ‘साना तथा मझौला उद्यमीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायती बाटो लिनुपर्छ ।’
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए । नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताए ।

यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ । अझै नयाँ युगको आवश्यकताअनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ’, उनले भने ।

डब्लुटीओ चेयर्स प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए ।

सोहीमुताबिक नेपालमा पनि डब्लूटीओ चेयर्स प्रोग्राम कार्यान्वयन भइरहेको उनले बताए । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लुटीओ चेयर्स प्रोग्राम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवी प्रसाद बिँडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैँमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताए ।‘हामी अझै सिर्जनशील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगीकरण कमजोर छ अनि उपयुक्त शिक्षा तथा तालिम, बजारअनुसारको सीप विकास गर्नुपर्नेजस्ता थुप्रै चुनौती छन्’, उनले भने, ‘डब्लुटीओ चेयर्स प्रोग्रामअन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावहारिक कामहरू हुनेछन् ।’

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लुटीओ चेयर्स प्रोग्रामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए । ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्वपूर्ण रहेको उनको भनाइ थियो । वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाइ थियो । उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाइ सेवामा नेपाल खुद आयातकर्ता हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया