‘विदेशबाट मौसमी कामदारको माग आएको छैन’
माग आएको भ्रामक सूचनामार्फत सर्वसाधारण ठग्ने प्रयास
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट मौसमी कामदारको माग नआएको बताएको छ । मन्त्रालयले मौसमी कामदार पठाउनका लागि आवश्यक प्रक्रियाहरु अघि बढाए पनि माग भने नआएको बताएको हो ।
मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ तयार गरी मौसमी कामदारको हकमा रोजगारीको किसिम र संख्या, आवास, खाना, स्वास्थ्य बीमा र कामदारको सुरक्षा, कार्यस्थल सुरक्षाण प्रत्याभूति पत्र, लागत, खर्चलगायतको व्यवस्थामा स्पष्ट पारेको थियो । निर्देशिका तयार गरे पनि मौसमी कामदारको माग नआएकाले त्यसको प्रलोभनमा नपर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।
पछिल्लो समय मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यममा भ्रामक सूचना प्रकाशन गरी सर्वसाधारणमा भ्रम फैलाउने तथा रकम उठाई ठगी गर्ने गरेको भन्दै यसमा सतर्क रहन वैदेशिक रोजगार विभागले आग्रह गरेको हो ।
विशेष गरी दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भन्दै सार्वजनिक सूचना जारी गरेको विभागले जानकारी प्राप्त गरेको थियो । सोसँगै विभागले पनि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाका लागि सम्बन्धित नियोग र विभागमा हालसम्म कुनै दस्तावेज पेश नभएको बताएको छ ।
दक्षिण कोरियालगायत कुनै पनि मुलुकमा मौसमी कामदार पठाइदिने भनी कुनै व्यक्ति, संस्थाको भ्रममा नपर्न रकम नबुझाउन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा विभाग वा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गरी सत्य तथ्य बुझन समेत सर्वसाधारणमा गरेको विभागका प्रवक्ता कृष्ण प्रसाद भुसालले बताए । दक्षिण कोरिया नेपालीको लागि आकर्षक गन्तव्य भएकोले व्यक्ति वा संस्थाले माग आएको भने पनि विश्वास गर्ने वातावरण नभएको हुँदा त्यसमा सचेत रहन आग्रह गरिएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा पठाउने भन्दै व्यक्ति तथा संस्थाहरुले सर्वसाधारणलाई निरन्तर ठगी गरेको पाइन्छ । पछिल्लो समय सरकारले मौसमी कामदारको रुपमा विदेश पठाउने योजना अघि सारेको थियो । त्यसलाई नै ठगीको माध्यम बनाउनको लागि पछिल्लो समय व्यक्ति तथा संस्था लागेका छन् । आन्तरिक बजारमा पर्याप्त रोजगारी नहुँदा सर्वसाधारणहरु विदेश जानको लागि छिटै आकर्षित हुने हुँदा, उनीहरुको लागि झूटो आश्वासन दिन सहज हुने विभागका अधिकारीहरु बताउँछन् । जसले गर्दा ठगी बढ्न पुग्छ । विदेश पठाउने नाममा ठगी गर्ने मानसिकता भएका व्यक्ति तथा संस्थाले विविध प्रलोभन देखाउँदै आएको पाइन्छ । आकर्षक सेवा सुविधा, रोजगारीको सुनिश्चितता, निःशुल्क, राम्रो कम्पनी तथा रोजगारदातासमक्ष पठाइदिनेलगायतका विविध प्रलोभन देखाई युवाहरुलाई व्यक्ति तथा संस्था अर्थात् मेनपावरले समेत ठगी गर्दै आएको पाइन्छ । विभागमा मासिक रुपमा व्यक्तिगत र संस्थागत ठगी गरेको भन्दै लाखौँ रकम मागदाबीसहित हजारौँ उजुरी पर्ने गरेका छन् । चालू आर्थिक वर्षको सात महिना अवधिमा ३९ करोड रुपैयाँभन्दा बढी ठगी भएको मागदाबीसहित विभागसमक्ष उजुरी परेको उनले जानकारी दिए ।
यसैबीच गत सात मात्र एसियापावर रिक्रुयटमेन्ट कन्सल्ट्यान्टले विभागबाट पूर्वस्वीकृति नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा वैदेशिक रोजगारीको लागि साउदी अरबस्थित आर्करोडन कम्पनीमा पठाउन लागेको भन्दै छापा मारेको थियो । छापा मार्ने क्रममा उक्त मेनपावरले दुई सय जनालाई अन्तर्वार्ता लिइरहेको थियो ।
विभागबाट पूर्वस्वीकृति नलिई अन्तर्वार्ता गर्दै गरेको समयमा विभागले अन्तर्वार्ता स्थगन गरी मेनपावरले संकलन गरेको १९ थान राहदानी समेत बरामद गरी थप अनुसन्धान गरेको थियो । यसरी नियमविपरीत काम गर्ने मेनपावरहरु प्रशस्त रहेको प्रवक्ता भुसालले बताए । उनले गैरकानुनी काम गर्ने व्यक्ति तथा संस्थालाई भने विभागले नियन्त्रणमा लिने र आवश्यक कारबाही समेत अघि बढाउने बताए ।
वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा प्राप्त हुनसक्ने मौसमी प्रकृतिको कामको लागि पठाइने गरी छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन सरकारले उक्त निर्देशिका बनाएको थियो । कोरिया, पोर्चुगल, बेलायत र अस्ट्रियामा जाने मौसमी कामदारको संख्या बढेसँगै सरकारलाई यसलाई व्यवस्थित गर्नको लागि निर्देशिका निर्माण गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया