Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई उद्योग संगठनको आग्रह

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई उद्योग संगठनको आग्रह


विराटनगर । उद्योग संगठन मोरङले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । संगठनले विज्ञप्ति जारी गर्दै लामो समयदेखि मुलुकको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको जनाएको छ ।

आर्थिक शिथिलताका कारण मागको कमी, बक्यौता उठ्न समस्यालगायतका कारण उद्योगी व्यवसायी कलकारखाना बन्द गरेर बस्नुपर्ने अवस्थाको सिर्जना भएको भन्दै संगठनले सरकारको ध्यानाकर्षण गराएको हो । समग्र अर्थतन्त्रका सूचकांकहरू लगातार ऋणात्मक भइरहदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा नगएको संगठनले आरोप लगाएको छ । उपयुक्त विधि, नीति तथा प्रक्रियाबाट अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने मन्त्रालयहरू नै हाल नेतृत्वविहीन अवस्थामा राखिनुले पनि सरकार अर्थतन्त्रप्रति संवेदनशील नभएको जस्तो देखिएको संगठनको भनाइ छ ।

राजनीतिक प्रकृतिका समस्याहरूको समाधानमा रातारात बैठक छलफल गरी सहमति जुटाउने र निकास निकाल्ने उच्च राजनीतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न समेत यही प्रकृतिको तत्परताका अपनाउनुपर्ने उद्योग संगठन मोरङको भनाइ छ । राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात् गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्न संगठनले आग्रह गरेको छ । समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भीरतापूर्वक लिन पनि संगठनले सुझाव दिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भएको मूल्यवृद्धि, कच्चापदार्थ एवं इन्धनको मूल्यवृद्धिको चापले समेत प्रत्यक्षरूपमा अर्थतन्त्रमा असर पारेको संगठनको भनाइ छ । सामान्य प्रकृतिको टालटुले समाधानले अहिलेको आर्थिक समस्याबाट निकास नदिने संगठनले उल्लेख गरेको छ । दिगो समाधानका लागि निजी क्षेत्रलाई समेत साथमा लिई यथाशक्य उचित कदम चाल्न संगठनले सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया