Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमन्त्री शर्माका विशेष सहयोगी शाहसहित छ जना कारागार चलान

पूर्वमन्त्री शर्माका विशेष सहयोगी शाहसहित छ जना कारागार चलान


काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माका विशेष सहयोगी पृथ्वीबहादुर शाहसहित छ जना कारागार चलान भएका छन् । शाहले अमेरिकाबाट अवैध रुपमा नेपालमा पैसा ल्याएपछि कारबाही सुरु भएपछि तत्कालीन अर्थमन्त्री शर्माले उनको पक्ष लाग्दै कारबाही अगाडि बढाउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाटै बर्खास्त गरेका थिए । तर, गभर्नर अधिकारी सर्वोच्च अदालतको आदेशमा पुनर्बहाली भएका थिए ।

अमेरिकी नागरिकको उजुरीका आधारमा पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरूलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो ।

सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको छ । सीआईबीले नै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो ।

पक्राउ परेको उनीहरूको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडितका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पु-याएर ठगी गरेका पाइएको छ । अभियुक्तहरूले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झण्डै ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ । ठगिनेमा धेरै अमेरिकी नागरिक छन् । उनीहरूले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरूलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए । अभियुक्तहरूले पीडितको बैंक खातामा पहुँच पु¥याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए ।

ठगीका २० आरोपीमध्ये १३ जना फरार छन् । उनीहरूका बारेमा पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ । शाहले ल्याएको पैसा नरोक्न अर्थमन्त्रीको रुपमा शर्माले विज्ञप्तिसमेत जारी गरेका थिए । शाहले सहयोग गरेको कारण माओवादी नेता समेत रहेका पूर्वअर्थमन्त्री शर्माले उनको पक्ष लिँदै आएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया