Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशप्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै


कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था सदस्य रहेका छन् ।

कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेषगरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । उनका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ ।

उनले भने, “नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा शिखर सम्मेलन आयोजना गर्न लागेको छ । कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौँ । यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ ।”

शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यको सहभागिता रहनेछ । नेपालले पहिलोपटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने विश्वास गरिएको छ ।

एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले राससलाई बताए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने जनाउँदै महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया