Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन

आकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन


काठमाडौं,उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल अयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाण्डूमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो।

“नेपाल एअरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।

“त्रिभूवन विमानस्थलको राडारमा पनि दुइटा विमान नजिकै देखिएपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनिएको थियो।“

ठोक्किन सक्ने चेतावनी
नेपाल प्रवेश गर्ने जहाजहरू साधरणतया २०,००० फिट माथिबाट प्रवेश गर्ने र अवतरणको अनुमति पाएपछि क्रमशः उचाइ कम गर्दै विमानस्थलतर्फ अघि बढ्ने निरौलाले बताए। तर त्यतिबेला एअर इन्डियाको जहाजले अवतरणका लागि अनुमति पाइसकेको थिएन।

त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुई विमान कति नजिक थिए भन्ने विषय छानबिन समितिले अध्ययन गरिरहेको बताए।

“यति नै नजिक थिए भनेर अहिले नै भन्न सकिने अवस्था छैन तर नेपाल एअरलाइन्सको जहाजमा अलर्ट (चेतावनी) देखिएको रहेछ,” उनले भने।
अधिकारीहरूका अनुसार विमानमा रहने ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस) प्रणालीले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।

नेपाल एअरलाइन्सको विमानका चालकहरूले त्यस्तो चेतावनी आफ्नो जहाजमा आएको जानकारी प्राधिकरणलाई गराएको प्रवक्ता निरौलाले बताए।
“एनएसीको जहाजमा टीसीएस सक्रिय भएको रहेछ। त्यो भनेको विमानसँग अर्को विमान ठोक्किन सक्ने चेतावनी हो,” उनले भने।

“यस्तो चेतावनी एअर इन्डियाको विमानमा पनि देखिनुपर्ने हो तर उक्त विमानले त्यसको जानकारी प्राधिकरणलाई गराएन।”

‘लापरबाही’को आशङ्कामा छानविन
निरौलाका अनुसार प्रारम्भिक विवरणहरूबाट एअर इन्डियाका पाइलटको “लापरबाही” देखिएको प्राधिकरणको निष्कर्ष छ।

“एअर इन्डियाको लापरबाही जस्तो देखिन्छ। अब छानबिनबाट थप यथार्थ आउला,” उनले भने।

छानविन समितिमा रहेका व्यक्तिहरूको विवरण भने प्राधिकरणले सार्वजनिक गरेको छैन।
त्रिभूवन विमानस्थलका प्रवक्ता सिटौलाका अनुसार प्रारम्भिक अध्ययनमा एअर इन्डियाको जहाजले अनुमति नलिई आफ्नो उचाइ कम गरेको देखिएको छ।

“हामीले घटनाको अनुसन्धान नसकिँदा सम्म त्यस समयमा विमानस्थलमा कार्यरत तीन जना एअर ट्राफिक कन्ट्रोलरलाई पनि काम नगर्न भनेका छौँ,” उनले भने।

अनुसन्धान नसकिँदासम्म उक्त उडानसँग सम्बन्धित एअर इन्डियाका पाइलटलाई पनि नेपाल प्रवेश गर्न रोक लगाइएको विवरण आएका छन्।

तर त्यसबारे विमानस्थलका अधिकारीहरूले केही बताएका छैनन्।

बीबीसीको जिज्ञासामा प्राधिकरणका प्रवक्ता निरौलाले त्यसबारे “बुझ्नुपर्ने” बताए।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया