Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्वारेन्टाइन बस्नै मान्दैनन् बिरामी

क्वारेन्टाइन बस्नै मान्दैनन् बिरामी


दोलखा,चैत १७

विश्वमा महामारीको रूपमा फैँलिएको कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाइ छुट्टै राखेर उपचार गर्न दोलखामा २ सय १० बेडको क्वारेन्टाइन निर्माण भएका छन् । लकडाउनको छैटौं दिनसम्म दोलखामा दर्जनभन्दा बढी ज्वारो, रुघाखोकीका बिरामी देखापरे पनि कुनै पनि स्थानीयतहका क्वारेन्टाइनमा बिरामी बस्न मानेका छैनन् । विदेशबाट आएका व्यक्तिको तथ्यांक, निगरानी र क्वारेन्टाइनमा पठाउने विषयमा लकडाउनको छैटौँ दिनसम्म पनि सम्बन्धित निकायले काम गर्न नसक्दा ३ स्थानीय तहले निर्माण गरेको २ सय १० बेडको क्वारेन्टाइन रित्तै भएको हो। स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले आइतबारसम्म जिल्लामा स्थापना भएको क्वारेन्टाइन सबै रित्तै अवस्थामा रहेको बताए ।जिल्लाका जिरी नगरपालिकाले दुई सय, शैलुङ गाउँपालिकाले ८ र बैत्यश्वर गाउँपालिकाले २ गरी कुल २ सय १० बेडको क्वारेन्टाइन रित्तै छ । विदेशबाट आएकाबाट नेपाल भित्रिएका नेपालीमा कोरोना संक्रमण फैलिएको पुष्टि भइसक्दा समेत दोलखामा भने विदेशबाट भित्रिएकाको आइतबारबाट बल्ल खोजी सुरु गरिएको छ । दोलखामा भारत, मलेसिया, कतार, जापान, बंगलादेश लगायत मुलुकबाट करिब पाँचसयको संख्यामा जिल्ला प्रवेश गरेको अनुमान छ ।

विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिको गैरजिम्मेवारीको कारण बिदेशबाट फर्किएका गाउँघरमा खुलेआम हिँडडुल गरिरहँदा क्वारेन्टाइन भने रित्तै हुन पुगेको हो । पछिल्लो २ हप्ताभित्र विदेशबाट फर्किएकामा संक्रमण हुनसक्ने सम्भावना प्रति जिम्मेवार निकायले बेवास्ता गर्दा स्थानीयमा संक्रमणको त्रास बढेको छ । सो बारे स्थानीय जनप्रतिनिधि र अधिकारीहरू जानकार भए पनि क्वारेन्टाइनमा पठाउने विषयमा गम्भीर हुन नसक्दा आम नागरिकको ज्यान जोखिममा परेको स्थानीयको आरोप छ ।जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि ५९ ओटा आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा दुई हप्ताको अवधिमा ६४ जना भित्रिएको विवरण संकलन गरिएको छ । तर उनीहरू घरमै रहेको बताईएको छ । विदेशबाट जिल्ला फर्किएका सबैलाई सुविधासम्पन्न क्वारेन्टाइनमा राख्न सक्ने सम्भावना नरहेपनि यसबारे छिट्टै ठोस निर्णय हुने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए । विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टाइन राख्न स्थानियले माग गर्दै आएका छन् । तर स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय प्रशासनले खासै चासो नदिँदा बिदेशबाट गाउँ छिरेका मानिसहरु क्वारेन्टाइनमा बस्न नमानेका हुन।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x