Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशगजामा २ सय ९८ नेपाली अलपत्र

दशगजामा २ सय ९८ नेपाली अलपत्र


लुम्बिनी,चैत १८
भारतबाट नेपाल फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दशगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरू अलपत्र परेका हुन् । संघीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भएता पनि रूपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ । क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरूलाई केही समय रोक्नु परेको रूपन्देहीका प्रजिअ महादेव पन्थले बताए । उनले भने, ‘लकडाउन छ भन्ने थाहा पाउँदापाउँदै उहाँहरू आउनुभएछ तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । हामीले उहाँहरूको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । संख्या धेरै छ त्यसैले ढिला भएको हो ।’

खुला आकाशमुनि दसगजामा बसेका नेपाली अनधिकृत रूपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरूको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, ‘आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उहाँहरूकै सुरक्षाका लागि दशगजामै छौँ ।’ नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मङ्गलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दशगजामा आएका थिए तर दशगजामा आउँदा उनीहरूलाई फेरि रोकियो । उनले भने, ‘उनीहरूलाई भारतीय नगर पञ्चायतले खान–बस्नको व्यवस्था गरेको थियो । एक्कासि खबर पठाइएछ । अनि उनीहरू सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दशगजाबाट प्रवेश दिइएन । रातभर खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।’ दसगजामा अलपत्र पर्नेविभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अर्घाखाँचीका १ सय ३३, गुल्मीका ७१, रूपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहँुका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एक जना रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x