जिल्लाभित्रका आयोजना जिल्लाकै मजदुरबाट सञ्चालन गर्न दिइने
काठमाण्डौं,चैत २१
सरकारले लकडाउनलाई केही खुकुलो पार्ने भएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले अहिलेसम्म भए गरेका गतिविधिको पुनरवलोकन गर्दै अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन उक्त निर्णय गरेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो । मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदुर परिचालन गरेर सञ्चालन गर्नसक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । ती उद्योग सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ । सञ्चालन गर्ने उद्योगलाई स्थानीय प्रशासनको आवश्यक सहयोग रहने छ । उद्योग सञ्चालन गर्दा भने आवागमन गर्न पाइने छैन । समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदुर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । अन्य आयोजनालाई पनि आफ्नै क्षेत्रभित्रका मजदुर बाहिर नपठाई परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने या धान रोप्ने या अन्य कृषि कार्य गर्ने विषयमा बाहिरी श्रमिक नल्याई स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा पछिल्लो मन्त्रिपरिषद्को निर्णय र कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई समन्वय समितिले सहजरुपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो । मुख्यतः स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रीको आपूर्ति, शान्तिसुरक्षा तथा सूचना प्रविधिलगायतका कार्यसम्पादन गर्ने विषयमा क्यालेन्डर बनाएर अघि बढ्ने गरी छलफल बैठकमा भएको थियो ।
कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश ‘लकडाउन’को आज १०औँ दिनमा आवश्यक वस्तु औषधि, खाद्य सामग्री र इन्धनको आपूर्ति असहज नहोस् भनेर ढुवानीका साधनलाई अझै सहज गर्ने निर्णय पनि बैठकले गरेको छ । नियमितरुपमा आयात भएका दैनिक आवश्यकीय वस्तु र मुलुकभित्र उत्पादन भएका वस्तुको लेखाजोखा राख्ने निर्णय पनि बैठकले गरेको छ । सीमाको क्वारेन्टाइमा बसेका नागरिकलाई अप्ठ्यारो हुन नदिन नेपालमा भएका विदेशी श्रमिकलाई सरकारले आवश्यक सुरक्षा दिने निर्णय गर्दै विदेशमा भएका नेपालीलाई पनि सुरक्षितरुपमा राखेकामा ती मुलुकलाई धन्यवाद दिने निर्णय पनि भएको छ । उनीहरुलाई १४ दिन भने क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले एकआपसमा सहयोग गर्नसमेत अनुरोध गरिएको छ । स्वास्थ्य सामग्रीको विषय अनुसन्धानपछि मात्रै भन्न सकिनेसरकारका प्रवक्ता डा. खतिवडाले पत्रकारले सोधेको जिज्ञासामा स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने बताए । ‘महत्वपूर्ण कुरा सामग्री आएर मानिसको जीवन रक्षा भइरहेको छ, महङ्गो भयो कि भएन, विधि पुग्यो कि पुगेन भनेर हेर्ने निकाय छुट्टै छ’, डा खतिवडाले भने । सरकारी तवरबाटै सामान ल्याउँदा उत्तम हुने जानकारी दिँदै मन्त्री खतिवडाले सरकारले यसअघि प्रयोग गरे पनि सफल हुन नसकेको बताए । दुवै छिमेकी मुलुक समस्यामा परेकाले सरकारी तवरबाट खरिद गर्न नसक्दा निजी क्षेत्रलाई आह्वान गर्नु परेको उनले अनुभव सुनाए । सरकारी तवरबाट गर्न सकिन्छ भने त्यसमा पनि आवश्यक कदम चाल्ने विषयमा समेत आजको बैठकमा छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया