Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशैलुङ डाँडामा मिनी ग्रेटवाल !

शैलुङ डाँडामा मिनी ग्रेटवाल !


दोलखा । विश्वकै अग्लो र लामो वालको रूपमा चिनियाँहरुले निर्माण गरेको ग्रेटवालको झल्को दिनेगरी दोलखाको शैलुङमा मिनी ग्रेटवाल निर्माण गर्न लागिएको छ ।

समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा पर्ने जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शैलुङ गाउँपालिकाको कालापानीमा मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । ग्रेटवालसम्म पुग्न नसक्नेहरुको झल्को मेटाउन नमूना पर्यटकीय संरचना मिनी ग्रेटवाल निर्माण गरिएको पालिकाले जनाएको छ । नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्यको रूपमा रहेको शैलुङ क्षेत्रमा थप पर्यटक आकर्षित गर्नको लागि मिनी ग्रेटवालको अवधारणा ल्याइएको शैलुङ गाउँपालिका पूर्वअध्यक्ष भरत दुलालले जानकारी दिए । गत वर्षदेखि पाँच सय मिटर लामो मिनी ग्रेटवाल निर्माणकार्य सुरु गरिएको हो । मिनी ग्रेटवाल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाले पाँच करोड रुपैयाँ छुट्याएका छन् ।

उक्त वाल निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाका पूर्वअध्यक्ष दुलालले आफ्नो कार्यकालमा संघीय सरकारसँग मिनी ग्रेटवाल निर्माणका लागि प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार पाँच सय मिटर लामो ग्रेटवाल निर्माणका लागि चार करोड ९४ लाख १५ हजार चार सय १८ रुपैयाँको लागतमा निर्माण कम्पनी सोबर्ण निर्माण सिन्धुपाल्चोकले ठेक्का सम्झौता भएको थियो । हाल निर्माणको करिब ७५ प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । यस वाल निर्माणको लागि केन्द्रीय सरकारको ७० प्रतिशत अनुदान रहेको छ भने शैलुङ गाउँपालिकाको ३० प्रतिशत लगानी रहेको छ । शैलुङ गाउँपालिकाको कालापानीदेखि पर्यटकीयस्थल शैलुङको डाँफे ढुंगासम्म पर्खाल निर्माणको डीपीआर तयार भए पनि सुरुमा कालापानीदेखि पाँच सय मिटर मात्रै पर्खाल निर्माण भइरहेको छ ।

गाउँपालिकाले ११ सय मिटर लामो ग्रेटवाल निर्माण गर्ने योजना बनाएको थियो । तर बजेट अभावले पहिलो चरणमा पाँच सय मिटर मात्रै पर्खाल निर्माण गर्न लागेको हो । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सयवटा थुम्का मिलेर बनेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडाँसम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा शैलुङ विकास हुँदै गएको छ । यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङ डाँडाँको भ्रमण गर्न सकिन्छ । शैलुङका सबै थुम्कामा हिउँद महिनामा हिउँले सेताम्मे हुँदा यस क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकहरुको भीड लाग्ने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया