Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवायु प्रदूषणले यसरी नेपालमा हजारौँ मानिसको ज्यान लिइरहेको छ

वायु प्रदूषणले यसरी नेपालमा हजारौँ मानिसको ज्यान लिइरहेको छ


काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २४ गते मन्त्रालयको मूलद्वारनजिकै एउटा कृत्रिम फोक्सो राख्यो। मशाहपथ भएर हिँड्ने जोसुकैले देख्नेगरी राखिएको त्यो वस्तु १५ दिनमै रूप नै नचिनिनेगरी कालो भएपछि त्यसलाई त्यहाँबाट हटाइयो।

त्यो फोक्सो ‘हाई-इफिशेन्सी पार्टिक्यलट एअर’ (एचईपीए) फिल्टरबाट बनेको थियो। एचईपीए फिल्टर भनेको विभिन्न तह भएको हावा छान्ने यान्त्रिक फिल्टर हो।

अमेरिकी पर्यावरण संरक्षण निकाय ईपीएका अनुसार त्यस्तो फिल्टरले “सिद्धान्ततः कम्तीमा ९९.९७ प्रतिशत धुलो, परागकण, मोल्ड (एक प्रकारको ढुसी), ब्याक्टेरिया र वायुमा प्रसारित हुने ०.३ माइक्रोन आकारको कण पनि छान्न सक्छ।अर्थात् एचईपीए फिल्टरबाट निर्मित उक्त कृत्रिम फोक्सोले लगभग हाम्रो फोक्सोले छान्ने बराबरकै धुलो छान्न सक्थ्यो।

दुई साताभित्रै त्यो पूर्ण रूपमा कालो भयो र धुलो छान्न नसक्ने अवस्थामा पुग्यो।त्यसले काठमाण्डू उपत्यकामा बस्ने मानिसको फोक्सोले कुन हदसम्मको प्रदूषणको सामना गरिरहेको छ भन्ने देखाउने विज्ञहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “त्यो कृत्रिम फोक्सोले जुन सन्देश दियो त्यसले काठमाण्डू उपत्यकाभित्र वायु प्रदूषणका कुरामा निकै नै ध्यान दिनुपर्ने अवस्था देखायो।”

वायु प्रदूषण मुत्युको ‘एउटा प्रमुख कारण’
अधिकारीहरूले दिएको जानकारी तथा सरकारी स्तरबाट भएको अध्ययनअनुसार नेपालमा हुने मृत्युका मुख्य कारणमध्ये वायु प्रदूषण पनि हो।

वायु प्रदूषण प्रत्येक वर्ष अझ गम्भीर चिन्ताको विषय बन्दै गएको छ।विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्‌ले सन् २०१९ मा अध्ययन गरेर एक वर्षपछि सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ।

त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग पर्छन्।त्यो प्रतिवेदनमा भनिएको छ, “हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग [सीओपीडी] र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेका छन्।”

जनस्वास्थ्यविद्हरूका अनुसार श्वासप्रश्वाससम्बन्धी दीर्घरोगको मुख्य कारक वायु प्रदूषण हो।पहिलो कारणका रूपमा आउने मुटुसम्बन्धी रोगका लागि पनि खानपान, जीवनशैलीका साथसाथै वायु प्रदूषणको भूमिका पनि व्यापक छ। अनि फोक्सोको क्यान्सरका लागि समेत वायु प्रदूषणले भूमिका खेल्छ।

त्यस हिसाबले नेपालमा हुने मृत्युको मुख्य कारण नै वायु प्रदूषण हो भन्न पनि सकिने तर्क केही विज्ञको छ।उक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०१९ मा १,९३,००० जनाभन्दा केही बढी मानिसको मृत्यु भएकोमा २१.१ प्रतिशत मृत्यु श्वासप्रश्वाससम्बन्धी दीर्घरोगबाट भएको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी नेपालमा वार्षिक रूपमा ४२,००० जनाभन्दा बढीको मृत्युको कारण वायु प्रदूषणजन्य रोगहरू हुने सरकारी तथ्याङ्क रहेको बताउँछन्।

त्यसमध्ये काठमाण्डू उपत्यकाभित्र मात्र ५,००० जनाभन्दा बढीको वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण मृत्यु हुने गर्छ।उनले अमेरिकास्थित हेल्थ इफेक्ट्स इन्स्टिट्यूटको प्रतिवेदनले दिएको तथ्याङ्क उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल सन् २०१९ को अध्ययन प्रतिवेदनका एकजना लेखक एवम् उक्त अध्ययनको प्रमुख थिए।उनी भन्छन्, “वायु प्रदूषण नेपालीहरूको मृत्युको प्रमुख कारणका रूपमा देखिएको छ। यो अवस्था झन् बढ्दै गइरहेको छ।””तर हामीले यसको समाधानका लागि पर्याप्त पहल गर्न सकिरहेका छैनौँ।”

वायु प्रदूषणबाट हुने हानि
चिकित्सकहरूका भनाइमा दूषित वायुका कारण फोक्सोसम्बन्धी मात्र होइन अरू अनेकौँ स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्।

श्वासप्रश्वास विशेषज्ञ डा. अर्जुन कार्कीका भनाइमा प्रदूषित हावाका कारण क्यान्सर र मस्तिष्काघातजस्ता दीर्घरोग पनि लाग्न सक्छन्।

उनी भन्छन्, “हामीलाई चाहिने अक्सिजन हो मूलत:। तर अक्सिजनसँगै हाम्रो फोक्सोमा प्रदूषित हावा जान्छ र त्यो बिस्तारै रगतमा पनि फैलिन्छ।”

“यस्तो हावा हामीले लामो समयसम्म लिइराख्यौँ भने सीओपीडी हुन सक्छ।””तर यस्तै प्रदूषित हावा हामीले लिइराख्यौँ भने र हाम्रो शरीरमा पस्दै गयो भने क्यान्सर, हृदयाघात र पक्षाघातजस्ता रोगहरू पनि लाग्न सक्छन्।”स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीका भनाइमा प्रदूषित हावाले छाला र आँखामा पनि असर पार्छ भने मस्तिष्क र स्नायुसम्बन्धी रोगहरू पनि लगाउन सक्छ।

उनी भन्छन्, “यस्तो हावाले मन्द विषका रूपमा दीर्घकालसम्म असर गर्ने खालको हुन्छ। त्यसैले यसबाट बच्ने उपाय हामीले गर्नुपर्छ।”
स्वास्थ्य मन्त्रालयको मूलद्वारनजिकै राखिएको कृत्रिम फोक्सोसम्बन्धी जानकारी दिन जारी गरिएको वक्तव्यमा भनिएको छ, “वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याहरूका साथै हृदयाघात, मतिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ।”

“वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक हो। प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भइसक्ने हुनेले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्छ।”

नेपालमा वायु प्रदूषणको अवस्था
यो साता आइतवार र सोमवार पानी परेपछि काठमाण्डू उपत्यकामा प्रदूषण केही घटेको छ।तर प्रदूषणको विवरण राख्ने वर्ल्ड एअर क्वालिटी इन्डेक्सले विश्वका २,००० बढी सहरमा रहेका ३०,००० भन्दा धेरै मापन बिन्दुबाट सङ्कलन गरेको विवरणहरूमा गत साताको शनिवार र आइतवार काठमाण्डूको अवस्था निकै खराब भएको देखिएको थियो।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्छ।

वायुको अवस्था जनाउने स्केल १०० भन्दा माथि पुगेको बेला त्यो स्वास्थ्यका हिसाबले कमजोर अवस्थामा रहेका व्यक्तिका लागि अस्वास्थ्यकर मानिन्छ।त्यो सूचकमा १५० अङ्कबाट उकालो लागेपछि सबै किसिमका मानिसका लागि अस्वास्थ्यकर मानिन्छ।

त्यस्तो अङ्क २०० माथि पुगे अस्वास्थ्यकर र ३०० भन्दा माथि पुगे खतरनाक तहमा पुगेको ठानिन्छ।हिउँद सकिएपछि र मनसुनी वर्षाको समय सुरु हुनुअघि हुने प्रदूषणका मुख्य कारण वनमा लाग्ने डढेलो र अन्नबालीका रहलपहल जलाउने चलन रहेको वातावरण विभागले बताउने गरेको छ।

यद्यपि नेपालको सहरी क्षेत्रहरूमा सधैँ भइरहने निर्माण र त्यस्ता क्षेत्रमा धुलो उड्न नदिने व्यवस्था नहुनु अर्को मुख्य कारणका रूपमा रहेको धेरैको बुझाइ छ।

त्यस्तै सवारीसाधन र उद्योगबाट उत्पन्न हुने धुवाँ तथा धुलोले पनि वायुमण्डललाई निरन्तर प्रदूषित गराइरहेको विज्ञहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले नेपालमा वायु प्रदूषणको मुख्य कारण “सवारीसाधनबाट निस्किने धुवाँ र धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलो, घर, रेस्टुराँ तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको प्रयोग” रहेको जनाएको छ।

उसका अनुसार प्रदूषित वायुमा कार्बन मनोक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडजस्ता हानिकारक सूक्ष्म कण पनि हुने गर्छन्।

कानुन कार्यान्वयनमा प्रश्न
धिमाल सरकारले वायु प्रदूषणको मापदण्डसम्बन्धी निर्देशिका बनाए पनि त्यसको कार्यान्वयन नहुँदा समस्या जहाँको त्यहीँ रहेको बताउँछन्।

त्यस्तै सरकारले बर्सेनि उठाउने प्रदूषणबापतको कर वा राजस्व पनि प्रदूषण न्यूनीकरण गर्ने काममा खर्च नभइरहेकोमा उनी चिन्ता व्यक्त गर्छन्।

प्रदूषणको कारण देशभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय प्रतिबद्धताको आवश्यकतामा जोड दिँदै उनी भन्छन्, “मानव स्वास्थ्यलाई दृष्टिगत गरेर सबै देशले समाधान खोज्ने बेला आइसक्यो।”

प्रदूषित हावाबाट कसरी बच्ने?
चिकित्सक तथा अधिकारीहरू यस्तो प्रदूषित हावाबाट बच्नका लागि सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्किँदा पनि नियमित रूपमा मास्क लगाउन सुझाव दिन्छन्।

अधिकारी भन्छन्, “प्रदूषण बढेका बेलामा हामीले विशेष ध्यान दिनुपर्छ र नियमित रूपमा मास्क लगाउने तथा चस्मा लगाउने गर्नुपर्छ।”
डा. कार्की व्यक्ति आफूले सचेत हुनुका साथै राज्यले पनि यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिनुपर्ने सुझाव दिन्छन्।

“राज्यले सडकहरू मर्मतदेखि प्रदूषण धेरै गर्ने सवारीसाधनहरूलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ,” कार्की भन्छन्।

चिकित्सकहरू प्रदूषण बढेका बेलामा विशेषगरी बिहान र साँझका बेलामा घर बाहिर ननिस्किन र निस्किनु परे पनि मास्क अनिवार्य लगाउन सुझाव दिन्छन्।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया