Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुुपारी व्यापारीबीच लेनदेन नमिल्दा झै–झगडा

सुुपारी व्यापारीबीच लेनदेन नमिल्दा झै–झगडा


विराटनगर । झापा जिल्लाका सुुपारी व्यवसायी दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी व्यापारी समूहमा हिसाबकिताब र लेनदेन नमिलेर झै–झगडा भएको छ । सुपारी व्यापारी पोखरेल समूहमा रहेका एक सुपारी कारोबारी प्रदीप मित्तलले सुुपारीको कारोबारबाट आफूले पाउनुपर्ने ८० करोड रूपैयाँ आफ्ना दुई साझेदारले नदिएको भन्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा रकम उठाइदिन निवेदन नै दिएपछि सुपारी कारोबारीको झगडा सतहमा आएको हो ।

दुुवै संस्था उद्योगी तथा व्यवसायीको हकहितको सुरक्षाका लागि स्थापना भएका हुन् । सुुपारी व्यवसायीको आपसी लेनदेन र कारोबारको विषय मिलाइदिन उजुरी परेपछि दुवै व्यवसायी संस्था अन्यौलमा परेका छन् ।

पोखरेल समूहका सदस्य मित्तलले प्रदीप मुरारका र दिनेश राठीले रकम हिनामिना गरेको उजुरीमा उल्लेख गरेका छन् । उनले सुपारीको कारोबारबाट पोखरेल समूहलाई पाँच अर्बभन्दा बढी फाइदा भएको पनि खुलाएका छन् । तर यस्तो आपसी लेनदेनको विषयलाई मोरङ व्यापार संघ र उद्योग संगठनजस्तो सामाजिक संस्थाले अर्धन्यायिक संस्थाजस्तो गरी निवेदन नै लिएपछि कानुनी बाटोमा जान्छ वा आफैँ फैसला गर्दछ भन्ने कुरा गम्भीररूपमा उठेको छ ।

विगत केही वर्षअगाडि पनि तत्कालीन बैंक अफ एसियामा पोस्तादाना आयातका लागि भन्दै मोरङ व्यापार संघले सिफारिस दिएपछि विवाद उत्पन्न भएको थियो । संघको सिफारिसका आधारमा बैंकले खोलेको एलसीमा संलग्न गराइएका व्यावसायिक फर्ममा पछि नक्कली सञ्चालकको हस्ताक्षर भएको खुलेको थियो । अहिले फेरि कुनै एक समूहलाई संरक्षण गर्न र कानुुनी उपचारलाई निस्तेज बनाउने काममा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको एउटा समूह लागि परेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।

व्यवसायी मित्तलले भने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले यो समस्याको समाधान गर्छु भन्ने वचन दिएकोले आफू पर्खिएर बसेको बताए । उद्योग संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले यो विषय उद्योगसँग सम्बन्धित नभएकाले संगठनले केही गर्न नसक्ने बताए । यो व्यापारिक लेनदेनको विषय भएकाले उद्योग संगठनले हेर्ने नमिल्ने उनको भनाइ थियो ।

केपी ओली प्रधानमन्त्री भएका बेला पोखरेलको समूहले २५ हजार टन सुपारी आयात गर्ने कोटा पाएको थियो । जसमा अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल, पीके ट्रेडर्स, नेसनल मोटर्स र तिरूपति ट्रेड लिंकले सुपारी आयातको अनुमति पाएका थिए । उक्त समूहमा व्यवसायी पोखरेलसहित विराटनगरका व्यवसायी दिनेश राठी, प्रदीप मुरारका र सञ्जय अग्रवाल तथा झापाका गोविन्द सरिया र प्रदीप मित्तल रहेका छन् । उक्त समूहले इन्डोनेसियाबाट सुपारीको आयात गरेको थियो ।

इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई यही समूहले विराटनगरका नवीन घिमिरेका नाममा रहेको मनकामना ट्रेडर्सबाट भारत निकासी समेत गरिसकेको छ । पोखरेल समूहले पनि उक्त सुपारी नेपालमा उत्पादन भएको भन्ने झुटो उत्पत्तिको प्रमाणपत्र बनाएर भारत निर्यात गरेको थियो । विराटनगर भन्सारका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विराटनगर नाका हुँदै ९० करोड ६७ लाखबराबरको २२ लाख ४८ हजार आठ सय पाँच किलो सुपारी भारततर्फ निकासी गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया