Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण व्यवसायी महासंघले भन्यो–‘विकास निर्माणको काम गर्न तयार छौं’

निर्माण व्यवसायी महासंघले भन्यो–‘विकास निर्माणको काम गर्न तयार छौं’


काठमाडौँ ,चैत २६

नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको समयमा विकास निर्माणको काम गर्न तयार रहेको जनाएको छ । महासंघले सुरक्षा अपनाएर विकास निर्माणका काम गर्न गर्ने वातावरण मिलाउन भने सरकारलाई आग्रह गरेको छ । सरकारले वातावरण बनाइदिएमा काम गर्न तयार रहेको महासंघले जनाएको हो । लकडाउनका कारण विकास निर्माणकार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएमा निर्माण व्यवसायी काम गर्ने पक्षमा रहेको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव दाहालले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । ‘निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौँ रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षाअगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

परियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोना भाइरसको खतरा कम हुने महासंघको ठहर छ । यस्तै, महासंघले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनियर तथा मजदुरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकासँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी रूपमा फैलिँदै गएको नोवल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणको रोकथामका लागि सरकारले यही चैत ११ देखि वैशाख ३ गतेसम्म लकडाउन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x