Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचारविरुद्ध निर्ममतापूर्वक कारबाही हुने प्रधानमन्त्रीको दाबी

भ्रष्टाचारविरुद्ध निर्ममतापूर्वक कारबाही हुने प्रधानमन्त्रीको दाबी


काठमाण्डौं,चैत २६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएका र खरिद गरिने सामग्रीमा कहीँ कतैबाट अनियमितता र भ्रष्टाचार भएमा निर्ममतापूर्वक कारबाही गरिने बताएका छन् । ओम्नी समूहले उच्च सरकारी अधिकारीहरुसँगको मिलेमतोमा त्यस्ता सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको विषय सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले निराधार र कुप्रचारको संज्ञा पनि
दिएका छन् ।

‘समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आmप्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन’, प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै सबैलाई थप सचेत र सावधान रहन आग्रह पनि गरेका छन् । ‘बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण एक जनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ ।

यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्किनुभएको छ । उहाँहरूमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरूलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ’, प्रधानमन्त्री ओलीले भने । उनले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास पनि व्यक्त गरे ।

विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरूलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुध्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले अहिलेकोे सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणको आपूर्तिमा परेको उल्लेख गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको छ ।’ साथै प्रधानमन्त्रीले महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको र आवश्यक सुरक्षा उपकरणको व्यवस्था गरिएको बताए ।

विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम भएको स्पष्ट गर्दै उनले यो हामी सबैको साझा लडाइँ भएको र समाजको हरेक सदस्य यस लडाइँमा आफैं एउटा सिपाही हो भन्ने कुरा मनन गर्नुपर्नेमा जोड दिँदै त्यसो गरेर कोरोना भाइरसलाई परास्त गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको पनि दाबी गरेका छन् । ‘लकडाउन’ले महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले यो महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेकाले स्थितिलाई भयावह बन्न नदिन आज बुधबारदेखि आठ दिनसम्म लकडाउनको अवधि बढाउनु परेको स्पष्ट गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x