Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा झण्डै ८० मेट्रिक टन खाद्यान्न, दलहन र ६८ करोडको औषधि आयात

लकडाउनमा झण्डै ८० मेट्रिक टन खाद्यान्न, दलहन र ६८ करोडको औषधि आयात


काठमाण्डौं,चैत ३०
मुलुकभर लकडाउनको घोषणा गरे पनि सरकारले आयातनिर्यातलाई भने निरन्तरता दिएको छ ।नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहनको लागि भन्दै सरकारले चैत ११ गते मंगलबारदेखि मुलुकभर लकडाउन गरेको थियो भने समय थप गर्दै लकडाउनको अवधि वैशाख ३ गते बुधबारसम्म तोकेको छ ।

सो अवधिमा सरकारले मुलुकमा कुनै पनि असहज परिस्थिति नआओस् भनेर आयातनिर्यातलाई नियमित गरेको छ । यसै क्रममा सरकारले लकडाउनको अवधिमा ७९ हजार ५६ मेट्रिक टन खाद्यान्न तथा ६७ करोड ८४ लाख ३४ हजार रुपैयाँको तयारी औषधि तथा औषधिको कच्चा पदार्थ आयात गरेको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनको अवधिमा पनि आयात निर्यातमा कुनै अवरोध नभएको र निरन्तर काम भइरहेको जानकारी दिएको छ । लकडाउनको अवधिमा खाद्यान्न ३७ हजार तीन सय ३४ मेट्रिक टन, दलहन १४ हजार ५४ मेट्रिक टन, तरकारी २१ हजार छ सय २६ मेट्रिक टन, फलफूल पाँच हजार नौ सय ६२ मेट्रिक टन, दुग्धजन्य ८० मेट्रिक टन आयात गरिएको छ भने औषधिजन्य कच्चा पदार्थ १० करोड ८७ लाख सात हजार रुपैयाँँ, तयारी औषधि ५६ करोड ९७ लाख २७ हजार रुपैयाँको आयात गरिएको मन्त्रालयले जनाएको छ । भारत लगायत तेस्रो मुलुकबाट सो सामग्री आयात गरिएको हो ।

लकडाउन सुरु भएको करिब तीन हप्ता अर्थात् १६ दिनको समयमा खाद्यान्न ३४ हजार आठ सय ५२ मेट्रिक टन, दलहन १२ हजार एक सय ९७ मेट्रिक टन, तरकारी २० हजार दुई सय आठ मेट्रिक टन, फलफूल पाँच हजार सात सय ६९ मेट्रिक टन र दुग्धजन्य पदार्थ ३० मेट्रिक टन आयात गरिएको छ भने औषधिको कच्चा पदार्थ नौ करोड ८० लाख ४१ हजार रुपैयाँ र तयारी औषधि ५० करोड २३ लाख ५३ हजार रुपैयाँको आयात गरिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले लकडाउनको अवधिमा पछिल्लो सातामा आयातित वस्तुहरुको आपूर्तिमा वृद्धि भएको समेत बताए । खाद्यान्न, दलहन, तरकारी, फलफूललगायतका सामग्रीको आयातमा वृद्धि भएको बताउँदै उनले तयारी औषधिको आयातमा भने कमी आएको उल्लेख गरे ।

उनले लकडाउन सुरु भएको पहिलो हप्ताको तुलनामा दोस्रो हप्तामा खाद्यान्नको आयात ९ दशमलब ७ प्रतिशत, दलहनको आयात ८७ दशमलब ७ प्रतिशत, तरकारीको आयात ७० दशमलव दुई प्रतिशत, फलफूलको आयात दुई सय ९३ दशमलव एक प्रतिशतले, दुग्धजन्य पदार्थको आयात दुई सय ४९ प्रतिशत, औषधिको कच्चा पदार्थको आयात ६१ दशमलव नौ प्रतिशतले बढेको छ भने तयारी औषधिको आयात भने ३९ दशमलब ९ प्रतिशतले घटेको बताए ।

यसैबीच चैत २४ देखि लागू हुने गरी २४ वटा औषधिजन्य पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध भारत सरकारले फुकुवा गरेको छ । सो निर्णयले औषधिको कच्चा पदार्थको अभाव हटाउन मद्दत गर्नेछ ।मन्त्रालयले पछिल्लो समय सामग्री आयात निर्यातको क्रममा मालवाहक सवारीसाधनहरु नेपाल भित्रिने र बाहिरिने क्रमले समेत निरन्तरता पाएको बताएको छ ।

गएको बुधबार मात्र वीरगञ्ज आईसीपी भन्सार कार्यालयबाट एक सय ७५ वटा ट्रक भित्रिएकोमा एक सय ७४ वटा बाहिरिएको, आईसीडीमा एक सय ८० वटा टीईयूएस भित्रिएकोमा एक सय ५० वटा बाहिरिएको छ भने भैरहवा भन्सार कार्यालयबाट ६३ ट्रक भित्रिएकोमा ८६ बाहिरिएको, विराटनगर आईसीपी भन्सारमा ७२ ट्रक भित्रिएकोमा ५७ वटा बाहिरिएको, आईसीडीमा कुनै पनि ट्रक नभित्रिएकोमा एकवटा ट्रक बाहिरिएको र काँकरभित्तामा कुनै पनि ट्रक नभित्रिएको र कुनै पनि बाहिरिएका छैनन् ।

हाल यी नाकाहरुमध्ये वीरगञ्ज आईसीपीमा पाँच सय ९० ट्रक, आईसीडीमा दुई टीईयूएस छ सय ७३ ट्रक, भैरहवामा दुई सय ५६ ट्रक, विराटनगर आईसीपीमा एक सय ट्रक, आईसीडीमा नौ ट्रक र काँकरभित्तामा ३५ ट्रक भन्सार जाँचपास भई छुट्न बाँकी रहेको छ ।
नेपाल भित्रिने सबै प्रकारको सवारीसाधनहरुलाई भन्सार कार्यालय, नेपाल इन्रमोडल यातायात विकास समिति र नेपाल आयल निगमले संयुक्त रुपमा समन्वयात्मक ढंगले भन्सार नाकामा डिसइनफेकटिङ स्प्रे गर्ने तयारी गरिएको छ ।

गत बुधबारदेखि नेपाल—चीन सीमाको तातोपानी नाका सञ्चालनमा आएको छ भने सो नाकाबाट केही मास्क र स्यानिटाइजर भित्रिएका छन् ।
मन्त्रालयका अनुसार आयातनिर्यात तथा व्यापार सहजीकरणको लागि समेत गएको बुधबार सार्क राष्ट्रहरुबीच छलफल भएको छ ।

उनले सार्क राष्ट्हरुबीच साफ्टाअन्तर्गतको व्यापारलाई हालको परिस्थितिमा थप सहज बनाउन गत बुधबार सबै सदस्य राष्ट्रहरुबीच भिडियो कन्फ्रेन्समार्फत वार्ता भएको बताए । वार्तामा सार्क राष्ट्रहरुबीच कोरोना भाइरसका कारण असहज परिस्थितिमा सार्क मुलुकहरुका बीचमा आयातनिर्यात तथा व्यापार सहजीकरण लगायतका विषयमा छलफल भएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x