Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व चुहावट रोक्न भन्सारमा कडाइ

राजस्व चुहावट रोक्न भन्सारमा कडाइ


काठमाडौं । बजेटले राजस्व चुहावट नियन्त्रण गर्ने क्रममा भन्सार जाँचपासलाई कडाइ गर्ने बताएको छ । भन्सार जाँचपास कार्यालयको पुनर्संरचना गरी जाँचपासपछिको परीक्षण कार्यलाई प्रभावकारी बनाइने बताएको छ । यस्तै आन्तरिक राजस्व विभागबाट कर प्रशासनका लागि सञ्चालन भइरहेको एकीकृत कर प्रणाली, भन्सार विभागबाट मालवस्तु जाँचपास व्यवस्थापनका लागि प्रयोगमा रहेको आशिकुडा र राजस्व अनुसन्धान विभागबाट प्रयोग भइरहेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीबीच पुस मसान्तसम्ममा अन्तरआबद्धता कायम गरी स्वचालितरूपमा सूचना आदानप्रदान हुने व्यवस्था मिलाई कराधार विस्तार तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने बताइएको छ । साथै भन्सार मूल्यांकनलाई कारोबारमा आधारित बनाई यथार्थपरक बनाउन अनलाइन मूल्यांकन तथ्यांकाधार निर्माण गरी मूल्यांकन प्रणालीमा आबद्ध गरिने बताइएको छ । ‘राजस्व चुहावट नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मकरूपमा परिचालन गरिनेछ । व्यापारिक छली र झुटा तथा नक्कली बीजक प्रयोग नियन्त्रण गर्न आवश्यक कानुनी सुधार गरिनेछ । अर्थ मन्त्रालय वा भन्सार विभागले तोकेको अधिकृतको नेतृत्वमा संयुक्त गस्ती परिचालन गरी गैरभन्सार नाकाबाट हुनसक्ने चोरी निकासी पैठारी नियन्त्रणलाई प्रभावकारी बनाइनेछ’, बजेट वक्तव्यमा भनिएको छ । यस्तै मदिरा र सुर्तीजन्य उद्योगलाई औद्योगिक करिडोर वा औद्योगिक क्षेत्रहरूमा क्रमशः स्थानान्तरण गरिने तथा ‘ट्रान्सफर प्राइसिङ’को माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुनसक्ने कर छली नियन्त्रण गरिने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया