Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकभित्रै एक लाख क्विन्टल चामललगायतका खाद्य सामग्री खरिद गर्दै उद्योग मन्त्रालय

मुलुकभित्रै एक लाख क्विन्टल चामललगायतका खाद्य सामग्री खरिद गर्दै उद्योग मन्त्रालय


काठमाण्डौं,बैशाख १

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभित्रै खाद्य सामग्री खरिद गर्ने तयारी गरेको छ । लकडाउनका कारण खाद्यान्नको माग उच्च रहेको भन्दै मन्त्रालयले चामल, दाल र तेल खरिद गर्न लागेको जनाएको छ । नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि सरकारले चैत ११ गतेदेखि समय थप गर्दै वैशाख ३ गतेसम्म मुलुकभर लकडाउन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार एक लाख क्विन्टल तीन प्रकारका चामल, पाँच सय क्विन्टल दाल, ३० मेट्रिक टन (करिब ३० हजार लिटर) तेल खरिद गर्न लागेको जानकारी दिएको छ ।

लिमिटेडका विभागीय प्रबन्धक श्रीमणिराज खनालले सोना मन्सुली चामल २५ हजार क्विन्टल, स्टिम जिरा मसिनो चामल २० हजार क्विन्टल र अरुवा मोटा चामल ५५ हजार क्विन्टल गरी तीन प्रकारको कुल एक लाख क्विन्टल चामल र दाल, तेल र साबुन खरिद गर्न लागेको बताए ।स्थानीय तहले चामल, दाललगायतका खाद्यान्नको माग उच्च गरेको कारण खरिद गर्न लागेको उनले बताए । उनले भने, ‘खरिद गर्ने सम्पूर्ण खाद्य सामग्री विदेशबाट आयातित नभई मुलुकको विभिन्न स्थानबाट खरिद गर्नेछौँ । हामीले खरिद गर्ने खाद्य सामग्री मुलुकमै पर्याप्त छ, त्यसैले आयात नगरेका हौँ ।’

लिमिटेडले विभिन्न जिल्लामा रहेका कृषकहरुमार्फत खाद्य सामग्री किन्ने योजना बनाएको छ भने उसले यसको लागि निजी क्षेत्रमार्फत खरिद गर्नेछ । उनले लकडाउनका कारण सवारी साधन नचल्दा तथा उपभोक्ता लिमिटेडको कार्यालयहरुमा खाद्यान्न खरिद गर्न आउन समस्या हुँदा जति बिक्री हुनुपर्ने हो सो मात्रामा बिक्री हुन नसकेको तथा काठमाडौं जिल्लाबाहिर खाद्यान्न पु¥याउनको लागि भने समस्या नरहेको समेत बताए ।

खरिद प्रक्रिया प्रचलित कानुनबमोजिम गर्ने बताउँदै उनले भने, ‘सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली , २०६४ तथा प्रचलित कानुनअनुसार खरिद प्रक्रिया अघि बढाउनेछौँ ।’ उनले खाद्यान्न मौज्दात रहेको अवस्थामा नै खाद्यान्न खरिद प्रक्रिया अघि बढाएको बताए । उनले भने, ‘हामीसँग पर्याप्त मात्रामा चामल, दाल, चिनी नुन, सिमीलगायतका खाद्य सामग्रीहरु छ ।’ उनले मौज्दात भण्डारणका लागि खाद्य सामग्री खरिद गर्न लागेको खुलाए ।

लिमिटेडले हाल २३ वटा दुर्गम जिल्लाहरुमा तीन हजार नौ सय २६ मेट्रिक टन चामल समेत गरी २२ हजार एक सय ५८ मेट्रिक टन चामल, एक लाख ४३ हजार छ सय २२ मेट्रिक टन धान मौज्दात रहेको जनाएको छ । यस्तै लिमिटेडसँग छ सय ७२ क्विन्टल फापर, पाँच सय ६७ क्विन्टल सिमी, सात हजार दुई सय ९४ मेट्रिक टन चिनी, एक लाख ५९ हजार ११ मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको बताएको छ ।

उनले लिमिटेड मात्र नभएर चामल गेडागुडीलगायतका खाद्य सामग्री निजी क्षेत्र, व्यक्तिसँग समेत भएको हुँदा खाद्य सामग्रीको कुनै अभाव नहुने समेत बताए । निजी क्षेत्र वा व्यापारीहरुसँग चामल, गेडागुडीलगायतका खाद्य सामग्री मौज्दात तथा आयातको अवस्थामा रहेको उनले जानकारी दिए । उनले भने, ‘कृषकहरुसँग धान छ, जसले गर्दा चामललगायत खाद्यान्नको कुनै समस्या हुनेछैन । तेल पनि मौज्दात रहेको तथा आयातित अवस्थामा छ ।’

लिमिटेडका अनुसार निजी क्षेत्रका उद्योग र व्यापारीहरुसँग करिब एक लाख दुई हजार पाँच सय ७० मेट्रिक टन चामल मौज्दात रहेको छ । यसैगरी कृषक तथा उद्योगहरुसँग धान मौज्दात रहेकोले चामल उत्पादन गर्न समस्या नरहेको बताएको छ भने कृषक तथा उद्योगहरुमा धानको मौज्दात कति भन्ने विषयमा कुनै आधिकारिक जानकारी नभएको लिमिटेडले जनाएको छ ।
लिमिटेडले विभिन्न स्थानीय तहहरुलाई ११ हजार आठ सय ९४ मेट्रिक टन चामल बिक्रीवितरण गरेको छ ।

निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना गरी कुल १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने तेल उद्योगहरुसँग पाम आयल दुई सय तीन मेट्रिक टन, पाल्मोलिन एक ह.जार तीन सय ११ मेट्रिक टन मौज्दात रहेको छ भने चार हजार एक सय दुई मेट्रिक टन तेल आयातको क्रममा रहेको छ ।

लिमिटेडसँग ३० हजार आठ सय ६१ क्विन्टल भानु नुन तथा एक लाख ६३ हजार पाँच सय १० मेट्रिक टन नून मौज्दात रहेको तथा ४५ हजार मेट्रिक टन आयातको क्रममा र एक लाख १८ हजार पाँच सय १० मेट्रिक टन विभिन्न जिल्लामा मौज्दात रहेको बताउँदै उनले भने, ‘सोअनुसार मौज्दात रहेको चामल तीन महिनालाई तथा नुन १० महिनालाई धान्न सक्नेछ ।’ लिमिटेडले पेट्रोलियम पदार्थ एवं एलपी ग्यासको समेत समस्या नरहेको बताएको छ । निरन्तर आपूर्ति तथा खरिद गरिएको हुँदा पेट्रोलियम पदार्थ एवं एलपी ग्यास लगायतका सामग्रीको नागरिकहरुलाई समस्या नहुने
बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x