Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनतालाई सरकारको अनुभूति दिलाउँदै स्थानीय तहहरू

जनतालाई सरकारको अनुभूति दिलाउँदै स्थानीय तहहरू


बुटवल,वैशाख १
अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रासमा बाँचिरहेको छ । विश्वका महाशक्ति राष्ट्रहरू पनि कोरोना भाइरसको त्रासबाट अछुतो रहन सकेका छैनन् । सारा नेपालीहरू एकान्तवासमै बसेर पहिलाजस्तो सामान्य जीवनयापनको प्रतिक्षा गरेका छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले जनतालाई कसरी भाइरस संक्रमणबाट बचाउने भन्ने चिन्तामा आवश्यक गतिविधि सञ्चालन गरिरहेका छन् । लकडाउनले एकान्तबासमा बसेका जनताहरूमा देखिने विभिन्न समस्याहरूलाई सक्दो समाधान गर्न स्थानीय सरकारहरू पनि उत्तिकै लागि परेका छन् ।

दिउँसो काम गरेर साँझ बिहानको छाक टार्र्नेहरूको खाद्य संकट पूर्ति गर्नेदेखि बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न र भाइरस संक्रमण हुनसक्ने शंकास्पद व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गर्न भ्याइनभ्याइ छ । त्यसैमा लकडाउनको अवज्ञा गरेर हिँड्ने र सरकारका निर्देशनहरूको पालना नगर्नेलाई कारबाही गर्न पनि स्थानीय सरकारहरू सक्रियताका साथ लागेका छन् । जसले गर्दा स्थानीय सरकारबाट भएका जनसुरक्षाका गतिविधिहरूले जनतालाई सुरक्षित भएको अनुभूति मिलेको छ ।

बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्णप्रसाद बस्यालले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनमा देखिने समस्याहरूको समाधान र भइपरी हुनसक्ने घटनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सबै कामहरू गरेको बताए । अध्यक्ष बस्यालले सुरुका दिनहरूमा पत्रपत्रिका रेडियो तथा विभिन्न सञ्चार माध्यमहरूमा सूचना प्रवाह गरेको बताउँदै सञ्चारको पहुँचबाट बाहिर रहेकाहरूलाई माइकिङ गरेर सुरक्षित एकान्तवासको लागि सचेत गराएको बताए ।

बस्यालले गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई र जोखिम मोलेर काम गर्नेहरूलाई पीपीईको व्यवस्था गरेको बताउँदै दुईवटा शैक्षिक संस्थाहरूमा दश÷दश बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको पनि बताए । अध्यक्ष बस्यालका अनुसार भोलि आउने समस्यासँग जुध्नको लागि गाउँपालिकाले सक्दो प्रयास गरेको छ । बिरामी ओसारपसारको लागि एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको छ । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने तीन सय ८० घर परिवारलाई प्रतिपरिवार २० किलो चामल, दुई किलो दाल, तेल, नुनलगायत अत्यावश्यकीय खाद्य सामग्री पनि वितरण कार्य पनि सम्पन्न गरिसकेको उनले बताए । कामको सिलसिलामा गाउँपालिकामा बसेर अलपत्र परेका ३६ जनालाई खानपिनको व्यवस्थासमेत मिलाएको उनले जानकारी दिए ।

त्यसैगरी कोटहीमाई गाउँपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कोरोना भाइरसको सक्रमण नियन्त्रणमा गाउँपालिकाले आवश्यक सम्पूर्ण कामहरू गरेको बताए । उनले लकडाउनको सुरुका दिनहरूमा सन्देशमूलक सूचना प्रवाह गर्दै माइकिङको माध्यमबाट जनचेतना दिने काम गरेको बताउँदै एकान्तबास नै कोरोना भाइरस रोकथामको सबैभन्दा उत्तम उपाय भएकोले जनतालाई एकान्तबासमा राखेर समस्याहरू समाधानमा गाउँपालिका सक्रियताका साथ लागेको बताए । घिमिरेले भने, ‘विश्वभर महामारीको रूपमा फैलिएको संक्रमणबाट गाउँपालिकाका जनतालाई सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी हो । लकडाउनपछि भारतबाट आएका १८ जनालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेका छौं भने एक सय १९ जनालाई विशेष निगरानीमा होम क्वारेन्टाइनमा राखेका छौं ।’

किसानहरूको समस्याहरूलाई समाधान गर्न समितिमार्फत आपूर्ति व्यवस्थालाई सहजीकरण गरेको उनले बताए । विपन्न वर्गहरूको खाद्य संकटलाई मध्यनजर गर्दै चामल, खाने तेल, नुन, साबुनलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरू पनि वितरण गरिरहेको उनको भनाइ छ । ‘सुखमा सबैले आफैँ गर्न सक्ने हुँदा दुःखको समयमा विशेष ख्याल गर्नुपर्ने भएकोले कोही कसैलाई समस्या परे तुरुन्त समाधान गर्न सक्ने खालको संरचना बनाएर लागेका छौं । समस्या आउनुभन्दा पहिल्यै सावधानी अपनाउनु महत्वपूर्ण भएकोले सावधानीलाई विशेष जोड दिएका छौं’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x