Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन प्रभाव : नयाँ वर्षमा पर्यटकीय स्थल सुनसान

लकडाउन प्रभाव : नयाँ वर्षमा पर्यटकीय स्थल सुनसान


दोलखा,वैशाख १

नयाँ वर्षमा सधैँ चहलपहल र रमझम देखिने दोलखाका पर्यटकीय स्थलहरू यो वर्ष भने सुनसान रहेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नयाँ वर्षमा पनि पर्यटकीय स्थलहरू सुनसान भएको हुन् ।

नयाँ वर्षमा सधैँ पर्यटकले भरिभराउ हुने जिल्लाको जिरी, कालिन्चोक, शैलुङ, भीमेश्वर मन्दिर, खरिढङ्गा, विगु गुम्बा, चरीकोटलगायतका पर्यटकीय स्थल सुनसान छन् । यी स्थलहरूका आन्तरिकसँगै बाह्य पर्यटकहरूको आगमन बाक्लो हुनेगरेको थियो । जिरीलाई सगरमाथाको प्रवेशद्धार तथा स्वीजरल्याण्डको जुरिच शहरसँग मिल्दोजुल्दो उपत्यकाको रूपमा चिनिन्छ । यसको अलवा यहाँ रहेको हलेश्वर महादेव, जिरेश्वरी मन्दिर, चेदुर्ङ डाँडाको आफ्नै विशेषता छ ।

जिरी घुम्न नयाँ वर्षको पूर्वसन्ध्यामा गतवर्षहरूमा हजारौँ पर्यटक जिरी आउने गरेको जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताए । त्यस्तै नयाँ वर्षमा जिल्लामा पर्यटकहरू भित्र्याउन विभिन्न कार्यक्रमको आयोजना हुने गरेको थियो । गत वर्षको नयाँ वर्षमा एकै दिन ३० हजार मानिस कालिञ्चोक घुम्न र कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न पुगेका थिए । तर, अहिले फागुनदेखि नै कालिञ्चोक सुनसान छ ।

सरकारले चैतको ११ गतेदेखि लकडाउन गरे पनि उच्च भेगमा कोरोना संक्रमणको जोखिम हुने भन्दै फागुनदेखि नै कालिञ्चोकमा पर्यटक जान छाडेका हुन् । कालिन्चोक, भीमेश्वर तथा खरिढुङ्गा घुम्न आउने पर्यटनले जिल्ला सदरमुकाम चरिकोटका होटलहरूसमेत भरिभराउ हुने गरेका थिए ।

कोरोना भाइरस कहरले आर्थिक मन्दी लागेको क्षेत्रीय होटल संघका अध्यक्ष रञ्चित कुमार पाठकले बताए । विगतका नयाँ वर्षहरूमा जिल्ला घुम्न आउने पर्यटकहरूलाई व्यवस्थापन गर्न धौधौ हुने गरेको पाठक बताउँछन् । ‘अघिल्लो वर्षहरूको वैशाख १ गते कालिञ्चोक घुम्न जाने भनेर मानिसहरू दुई÷चार दिन अघिदेखि नै सदरमुकाम चरीकोट आएर बस्ने गर्थे । चरीकोटमा मानिसको भीडले बजार र होटलहरू खचाखच हुने गरेको देखिन्थ्यो तर अहिले बजार सुनसान छ, होटल पसल बन्द छन् ।

’ दोलखाको कालिञ्चोक र जिरीपछि नयाँ वर्षमा धेरै मानिस पुग्ने ठाउँ शैलुङ हो । शैलुङमा प्राकृतिक सम्पदाको रूपमा सयौं थुम्काहरू रहेका छन् । शैलुङमा हिउँदमा धेरै मानिसको चहलपहल देखिन्छ । गत वर्षको नयाँ वर्षमा करिब पाँच हजार मानिसहरू शैलुङ घुम्न आएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

उनका अनुसार काठमाडौँ र चरीकोटबाट गत वर्ष करिब पाँच हजार मानिस नयाँ वर्ष मनाउन शैलुङ पुगेका थिए । अहिले भने शैलुङ पनि सुनसान बनेको उनले बताए । कोरोनाका कारण जिल्लालाई लाखौं आर्थिक नोक्सान भएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले बताए । जिल्लाभरका दर्जन बढी परिचित पर्यटकीय गन्तव्यहरू कोरोनाले सुनसान बनेको हुँदा जिल्ला भित्रिने पर्यटक शून्य हुँदा लाखौं नोक्सान भएको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x