Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध सट्टेबाज पक्राउ

अवैध सट्टेबाज पक्राउ


काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत ७४ करोड १३ लाख रूपैयाँ बराबरको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘वान एक्स बेट’मा सक्रिय रहेका पाँच जना एजेन्टहरूलाई पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । उनीहरूलाई प्रहरीले मंगलबार उपत्यकाको मैजुबहाल, मध्यपुर ठिमी, सानो भ-याङ, बुद्धनगरलगायतका स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहाका २९ वर्षीय दिनेश खड्का, काभ्रेपलान्चोक पाँचखालकी २८ वर्षिया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमीका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर भीमदत्तका २५ वर्षीय दिनेश चन्द र नुवाकोट ककनीका २४ वर्षीय आशीष लामिछाने रहेका छन् ।

प्रहरीका अनुसार एकै व्यक्तिले ६४ करोड रूपैयाँसम्मको अवैध कारोबार गरेको फेला परेको छ । कैलालीका दिनेशले राम विलास थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर ६४ करोड रूपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय रहेका दिनेशले सट्टेबाजको रकम प्रयोग गर्न ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए । यस्तै आशिषले तीन करोड रूपैयाँ कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख रूपैयाँ कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशीषको साथबाट प्रहरीले ३७ लाख रूपैयाँ बरामद गरेको छ । उनीहरूको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, उनीहरूले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया