Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपानी प्रशोधन केन्द्रहरूको निर्माण समयभित्रै सक्न निर्देशन

पानी प्रशोधन केन्द्रहरूको निर्माण समयभित्रै सक्न निर्देशन


काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण समयभित्रै सक्न निर्देशन दिएका छन् ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)अन्तर्गत ललितपुरको धोबीघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूको शुक्रबार स्थलगत अवलोकन गर्दै मन्त्री यादवले धोबीघाट, गोकर्ण, हनुमानघाटलगायतका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई अझ प्रभावकारीरूपमा अगाडि बढाउन निर्देशन दिएका हुन् । ‘फोहोरपानी प्रशोधन केन्द्रहरू तोकिएको समयमा नै सम्पन्न हुनुपर्छ, त्यसका लागि सबैले उच्च मनोबलका साथ काम गर्नुपर्छ, निर्माण व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्छ, सहजीकरण गर्नुपर्छ’, उनले भने, ‘काम सम्पन्न गर्नुपर्ने मिति र कामको गुणस्तरमा कुनै सम्झौता हुँदैन । समयमा काम सम्पन्न नहुँदा लागत बढ्ने र देशलाई नोक्सान हुने भएकाले कानुनबमोजिम त्यस्ता ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गर्नुपर्छ ।’

मन्त्री यादवले निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका साथै गोकर्ण, हनुमानघाटलगायतका स्थानमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणको अवस्था, कार्यप्रगति, परामर्शदाताको भूमिका, निर्माण व्यवसायीका समस्यालगायतका विषयमा जानकारी लिएका थिए । खानेपानी मन्त्रालयका सचिव राम आधार साहले निर्माण व्यवसायीले काम छाडेर अलपत्र पारेका कारण ठेक्का रद्द गरिएको धोबीघाटको दोस्रो फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाउनका लागि सरकारबाट स्रोत सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको जानकारी दिए ।

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले धोबीघाटका दुईवटा फोहोरपानी प्रशोधन केन्द्रहरू एक अर्कासँग आबद्ध रहेकाले अर्को केन्द्रको निर्माण कार्य समेत यथाशीघ्र अगाडि बढाउन स्रोत सुनिश्चितताको आवश्यकता औंल्याइन् । यस्तै, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का आयोजना निर्देशक राजेन्द्र सापकोटाले धोबीघाटमा निर्माणाधीन प्रतिदिन सात करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका दुईवटा फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको केयूकेएल/डब्लुडब्लु/टिपी–०३ केन्द्रको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।

यस्तै, आयोजना निर्देशक सापकोटाले प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको अर्को केयूकेएल/डब्लुडब्लु/टिपी–०२ केन्द्रको बाँकी निर्माण कार्यलाई अगाडि बढाउन नेपाल सरकारबाट दुई अर्ब २० करोड रुपैयाँको स्रोत (एक आर्थिक वर्षपछि आवश्यक पर्ने रकम) सुनिश्चितता हुनासाथ ठेक्का प्रक्रिया अगाडि बढाउने अवस्था रहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया