विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकोमा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो ।
भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका प्रमुख किरण कार्कीका अनुसार एक महिनाअघि नै अनुमतिका लागि फाइल दूतावास पुगेको भए पनि अनुमति पाइएको छैन । उनले भने, ‘भारत वा अन्य देशबाट विस्फोटक पदार्थ ल्याउन नो अब्जेक्सन लेटर भारतले दिनुपर्ने भएकाले फाइल दूतावास पुगेको छ ।’
सो सडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि दुईपट्टि रहेका अग्ला पहाड काट्नुपर्ने बाध्यता थियो । योसँगै अन्य तीनवटा पुलको दुईतर्फका पहाड भत्काउने काम अघि बढाइएकोमा तुइन खोलाको मुग्लिनतर्फको पहाड भने भत्काउन कठिन भएपछि काम रोकिएको प्रमुख कार्कीले बताए । सडकमा सवारीसाधन बन्द गरेर लामो समय काम गर्न कठिन भएकाले सो ठाउँको पहाड विस्फोट गराउने निर्णय गरिएको थियो । उनले भने, ‘वर्षात्अघि अब विस्फोट गर्न सम्भव छैन । अनुमति लिएर असोजपछि काम गर्ने योजनामा छौंँ ।’ सो सडकमा रहेका १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण गरिएका थिए ।
ठेक्का लगाइएका १५ पुलमध्ये १४ वटा निर्माणाधीन छन् । तीमध्ये तीनवटा असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अन्य आठवटा पुल असोजभित्रमा र तीन वटा मङ्सिरभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तुइन खोलाको पुल भने भित्तो विस्फोट गराएपछि मात्रै काम सुरु गर्न सकिने भएको छ । काम थालेको चार–पाँच महिनामा सो पुल पनि निर्माण गर्न सकिने प्रमुख कार्कीले बताए । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो । डाँडाको आधा भाग काटिएको छ भने बाँकी कडा भाग विस्फोट गर्नुपर्ने भएको छ ।
आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि समय एक वर्ष थप गरिएको हो । सो सडकका पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ती पुल निर्माणको लागत एक अर्ब २२ करोड रुपैयाँ हाराहारी छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडक फराकिलो बनाएसँगै पुल साँघुरा भएपछि निर्माण थालिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया