Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन सुझाव

तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन सुझाव


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।

अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदासमेत घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ ।’ यस्तै, संसद्मा विचाराधीन अधिकांश आर्थिक विधेयकलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्यसचिव डा अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथा अन्य विधेयकहरू समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरू सम्बोधन हुन सकेका छैनन्, यसका लागि पनि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ । खासगरी ठूला जलविद्युत् आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्नसमेत चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नसमेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताए । उनले भने, ‘विश्वमा सूचना प्रविधियुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरूलाई स्वदेशमै अन्तर्राष्ट्रिय ठूला आईटी कम्पनीहरूको ब्याकअपका रूपमा काम गर्ने व्यवस्था जीटुजीमार्फत गरेर आईटी उद्योगहरूलाई विकास गरिनुपर्छ ।’

भेटमा मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको जानकारी दिए । जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासँग पनि जोडिएको उनको भनाइ छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव अर्यालले अन्तर्राष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया