Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ’

‘योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ’


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सोमबार आयोजित एक दिवसीय योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रममा उनले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गरे । योग भनेको योग अभ्यास मात्र नभई यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिकरूपले स्वच्छ बनाउन, जागरूक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पु-याउँछ ।’ सरकारले नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागतरूपमा नै अगाडि बनाउन प्रोत्साहित गरेको उनले जानकारी दिए । गृह मन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने उनको भनाइ थियो । ‘योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकाले स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगबाट सम्भव छ’, उनले भने, ‘योग गर्ने व्यक्तिमा सकारात्मक सोच विकास भई नकारात्मकतालाई न्यूनीकरण गर्ने र सकारात्मक सोचले रिस, द्वेष एवम् प्रतिशोधको भावनालाई समेत कम गर्छ, फलस्वरूप यसको प्रभावबाट समाजमा हुने अपराधहरूमा पनि कमी ल्याउन मद्दत गर्दछ ।’

यस्तै, उनले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा सञ्चालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी प्रधान कार्यालय र पतञ्जलि योग समिति नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह–केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरेका थिए भने गृहमन्त्री श्रेष्ठ र महानिरीक्षक कुँवरलाई पतञ्जलि योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले कृतज्ञताको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराएका थिए । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्वभर मनाउन थालिएपछि यस वर्ष पतञ्जलि योग समिति नेपालको तत्वावधान र नेपाल प्रहरीको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया