विदेशी लगानीकर्ताले लगे १३ अर्ब लाभांश
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म साढे ३४ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ११ महिनामा विदेशी लगानीकर्ताले ३४ अर्ब ५८ करोड ४६ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरूले दुई सय ४७ वटा साना, २२ वटा मझौला र पाँचवटा ठूला उद्योग गरी कुल दुई सय ७४ वटा उद्योग स्थापना गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । यी उद्योगमा १४ हजार छ सय १३ जनालाई रोजगारी प्रस्तावसहित उक्त प्रतिबद्धता आएको विभागले जनाएकोे छ ।
विभागका अनुसार मासिक चारदेखि आठ अर्ब रुपैयाँसम्म विदेशी लगानी प्रतिबद्धता आउने गरेको छ । विदेशी लगानीकर्ताहरूका लागि कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । सोहीअनुरूप उनीहरूले लगानी ल्याउने तथा उद्योग दर्ता गराउने गरेको अधिकारीहरू बताउँछन् ।
विभागले जेठ महिनामा मात्रै चार अर्ब ९६ करोड ५३ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । ५६ वटा साना र एउटा ठूलो गरी ५७ वटा उद्योग दर्ताका लागि प्रतिबद्धता आएको हो । यी उद्योगमा दुई हजार पाँच सय ६९ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । विदेशी लगानीकर्ता उद्योग स्थापना तथा लगानी गर्नका लागि स्वयम् आफैँ नेपाल आउनुका साथै नेपालमा रहेका प्रतिनिधिहरूमार्फत लगानी प्रस्ताव ल्याउने, उद्योग स्थापना तथा सञ्चालन गर्ने, लाभांश लैजानेलगायतका कामहरू गर्नेगरेको पाइन्छ ।
लगानीकर्ताको सहजताका लागि सरकारले उनीहरूलाई विभिन्न प्रकारको भिसा उपलब्ध गराउँदै आएको छ । समीक्षा अवधिमा व्यावसायिक भिसास्वरूप लगानीकर्तालाई एक हजार छ सय १९ वटा, प्रतिनिधिलाई दुई सय ६३ वटा र डिपेन्डेन्ट सात सय २६ वटा भिसा प्रदान गरेको छ । जेठ महिनामा मात्रै लगानीकर्तालाई तीन सय दुईवटा, प्रतिनिधिलाई ४४ वटा र डिपेन्डेन्टमा एक सय ३४ वटा भिसा प्रदान गरेको छ ।
११ महिनामा ६६ वटा उद्योगको लागि १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) भएको छ । जेठ महिनामा मात्रै सातवटा उद्योगको लागि सात करोड ३१ लाख लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) भएको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकहरूमा पहिलो स्थानमा भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्यान्ड रहेका छन् । यस्तै, सिगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटाभन्दा बढी मुलुक रहेको विभागले जनाएको छ ।
लगानी गरेसँगै विदेशी लगानीकर्ताले नेपालबाट लाभांश समेत लैजाने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म लाभांशबापत १३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ लगेका छन् । जेठ महिनामा मात्र तीन करोड २४ लाख ३२ हजार रुपैयाँ लाभांश देशबाट बाहिरिएको छ । हरेक महिना लगानी पनि आएको छ र लगानीअनुरूपको प्रतिफल (लाभांश) पनि लैजाने क्रम बढ्दै गएको विभागका सूचना अधिकारी रमिला भण्डारले बताइन् ।
विदेशी लगानीकर्ताले उत्पादन, खानी र उत्खनन क्षेत्रबाट धेरै लाभांश लगेका छन् । यसपछि विद्युत्, ग्याँस र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट समेत लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्र बैंकको प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योगको रूपमा विभागले दर्ता गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया