काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि विज्ञहरूसँग सुझाव लिएको छ । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको हो । बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी आयोगले आफ्ना पूर्वउपाध्यक्ष तथा विज्ञहरूसँग सुझाव लिएको छ ।
आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भएकाले विज्ञहरूको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महत्वाकांक्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ । यदि आठ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्णरूपमा जोड दिनुपर्ने उनको सुझाव छ । यस्तै, उनले राष्ट्रिय गौरवका आयोजना भनिएका आयोजनाहरू पनि गौरव गर्न लायक नरहेको भन्दै गौरवका आयोजनाको परिभाषा फेरिनुपर्ने तर्क गरे ।
पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपयुक्त हुने बताए । पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । पूर्वगभर्नरसमेत रहेका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले अबका योजनाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । बाली उत्पादन हुन नसक्ने ठाउँमा पशुपन्छी पालन वा अन्य विकल्पबारे सोच्न सुझाव दिए ।
पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, पूर्वसदस्यहरू डा जनकराज शाह, डा गोविन्द नेपालले भद्दा योजना नबनाउन सुझाव दिए । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेको भन्दै भएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा शिवराज अधिकारीले योजना उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया