Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआरक्षबाट विस्थापित बस्तीमा अझै पुगेन राहत सामग्री

आरक्षबाट विस्थापित बस्तीमा अझै पुगेन राहत सामग्री


कञ्चनपुर,वैशाख ८

धनबहादुर जप्रेल
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने, अतिविपन्न समुदायका घरपरिवार बढी प्रभावित भएका छन् । त्यस्तो समुदायका लागि तीनै तहका सरकारले राहत वितरण समेत गरिरहेको छ ।

तर पनि कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएर बसेका तथा आरक्षपीडितहरूको सुकुम्बासी बस्तीमा भने अहिलेसम्म कुनै पनि प्रकारको राहत प्याकेज पुग्न नसकेको स्थानीयहरूको गुनासो गरेका छन् ।

झण्डै दुई दशकअघि कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडित परिवारको अहिलेसम्म पुनस्र्थापना त हुन सकेको थिएन नै । अहिले कोरोनाको महामारीको अवस्थामा समेत उनीहरूको बस्तीमा न कुनै राहत पुगेको छ न त स्वास्थ्य परामर्श सेवा नै । कञ्चनपुर जिल्लाभर दुई हजार चार सय बढी आरक्षपीडित परिवार भए पनि सबै समक्ष राहत पुग्न नसक्दा साँझ बिहान छाक टार्नै गाह्रो भएको आरक्ष पीडित संघर्ष समितिका सचिव बिरभान सिंह नायकको भनाइ छ ।

चौतर्फी दबाबपछि अहिले केही स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रका विस्तापितलाई मात्रै छुट्याएर राहत वितरण गर्ने गरेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित ढक्का शिविरमा बस्दै आएका ४० परिवारलाई बेलडाँडी गाउँपालिकाले राहत वितरण गरेको छ । बेलडाँडी गाउँपालिकाले आफ्नो पालिकाबाट विस्थापित घरपरिवारलाई मात्रै राहत प्रदान गरेको हो ।

उक्त शिविरमा छ सयभन्दा बढी विस्थापित परिवार भएकोले सबैलाई एउटै गाउँपालिकाले राहत वितरण गर्न नसकेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मरबहादुर खत्रीले बताए । त्यस्तै, लालझाडी गाउँपालिकाले पनि आफ्नो पालिका क्षेत्रभित्रबाट विस्थापित ३५ घरपरिवारलाई मात्रै राहत वितरण गरेको छ । त्यस्तै वेदकोट नगरपालिकाले साबिक सुडा गाविसबाट विस्थापित भई शिविरमा बस्दै आएका ९ घरपरिवारलाई मात्रै राहत वितरण गरेको छ ।

कञ्चनपुरका एक दर्जन बढी शिविरहरूमा विभिन्न क्षेत्रबाट विस्थापित भएका परिवारहरू टहरा बनाएर बसिरहेका छन् । उनीहरू कुनै एक स्थानीय तहबाट विस्थापित नभई कञ्चनपुरका बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा र वेदकोटलगायतका स्थानबाट बिस्थापित भएकोले सम्बन्धित स्थानीय तहसंग समन्वय गरिने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताए ।

उनले अधिकांश स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूसंग टेलिफोन वार्ता भएको र अधिकांशले तयारी गरिरहेको जानकारी दिए । कञ्चनपुरका आरक्षपीडित जस्तै सुकुम्बासी, भूमिहीन, मुक्त हलिया, मुक्त कमैया, दैनिक ज्यालादारी गरी गुजारा चलाउने समुदाय पनि छन् । यद्यपी बन्दाबन्दी अर्थात् लकडाउनको समयमा वडास्तरबाट वितरण भइरहेको राहत प्याकेजमा हुनेखाने वर्ग पनि समेटिएको तर अति विपन्न थुप्रै परिवारले राहत नपाएको व्यापक जनगुनासो सुनिने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x