Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीय न्यायिक समिति विवाद मिलाउन घरदैलोमा

स्थानीय न्यायिक समिति विवाद मिलाउन घरदैलोमा


दोलखा । दोलखाका स्थानीय तहका न्यायिक समितिहरू स्थानीय स्तरका विवाद मिलाउन घरदैलोमा पुग्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठन भएको न्यायिक समिति पालिकाभित्रका समस्या समाधानका लागि घरदैलोमै पुग्न थालेका हुन् ।

स्थानीय तहको निर्वाचन हुनुअघि जिल्लामा पुग्ने सयौं स्थानीय सामान्य विवादका उजुरी तथा घटनाहरू २०७४ को निर्वाचनपछि बनेको न्यायिक समितिमार्फत गाउँटोल तथा स्थानीय वडा र पालिकामै समाधान हुने गरेका छन् । स्थानीय विवादका उजुरी तथा घटना मिलाउने जिम्मेवारी पाएका स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्ष नेतृत्वको न्यायिक समितिले जनताको घरदैलोमै पुगेर स्थानीय विवाद मिलाउन थालेको छ । मेलुङ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी प्रमुख गायत्री आचार्य स्थानीय विवादका उजुरी गाउँघरमा नै गएर मिलाउने गरेको बताउँछिन् । आफ्नो पहिलो एक वर्षको अवधिमा करिब दुई दर्जन स्थानीय उजुरीलाई पालिकामै मिलाउन सफल भएको उनले बताइन् । ‘सुरु–सुरुमा केही उजुरीका घटना मिलाउन समस्या हुने गरेको थियो । तर अहिले अधिकांश विवाद गाउँघरमा नै मिल्ने गरेका छन्’, उनले भनिन् ।

यस्तै, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी र बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले पनि पालिकामा आउने ८० प्रतिशत बढी उजुरी तथा निवेदनलाई गाउँपालिकाको न्यायिक समितिमार्फत मेलमिलाप गराउन सफल भएको बताए । बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले एक वर्षको अवधिमा पालिका परेका उजुरीमध्ये ८० प्रतिशतको समाधान गरेको बताइन् । स्थानीय न्यायिक समितिमा आउने गालीबेइज्जती, ज्यालामजदुरी, सिमाना रुख, स्थानीय झै–झगडा, सार्वजनिक बाटो विवाद, श्रीमान्श्रीमती घरायसी विवाद, आलिधुरलगायतका स्थानीय उजुरीलाई पालिकाबाटै मेलमिलाप गराइएको उनले बताइन् ।

तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले पनि पालिकामा आउने तथा दर्ता भएकामध्ये ८० प्रतिशत घटना न्यायिक समितिमार्फत मिलाएको जानकारी दिइन् । यस्तै, स्थानीय विवादका उजुरी घट्दै गएको पनि उनले बताइन् । चालू वर्षमा तामाकोशी गाउँपालिकाको न्यायिक समितिमा २० वटा स्थानीय उजुरी आएकोमा १८ वटा विवादका उजुरी न्यायिक समितिमा छलफल गरी मिलाएको उनले बताइन् । उनका अनुसार तामाकोशी गाउँपालिकामा २५ जना न्यायिककर्ताहरू सूचीकृत रहेका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया